प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताः सुदूरपश्चिम प्रदेशको टोली घोषणा 
2020/12/24, 9:18
 
cricket

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ । विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । रुवि पोदार उपकप्तान रहेको सुदूरपश्चिमको टीममा रितु कनौजिया, कविता जोशी, मन्जु बोगटी, डल्ली भट्ट, लक्ष्मी साउँद, रेवती धामी, सम्झना खड्का, कविता कुँवर, दिव्या कार्की, सुनिता लुहार रहेका छन् ।

सुदूरपश्चिमको टीममा दीपा जोरा र स्नेहा महरा रहेका छन् । टोलीको वैकल्पिक खेलाडीमा मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी रहेका छन् ।  टीम व्यवस्थापकमा दिनेश सिंह र टीम प्रशिक्षकमा जानकी भट्टलाई जिम्मेवारी दिईएको कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले जानकारी दिए । 

समुह बी मा रहेको सुदुरपश्चिमको समुहमा बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बीनी प्रदेश छन । प्रदेशले पुस १४ गते गण्डकी, १५ गते प्रदेश नम्बर १ र १६ गते वागमति प्रदेशसँग खेल्नेछ । समुहको विजेता वा उपविजेता भएमा सुदुरपश्चिम सेमिफाईनलमा पुग्नेछ । 

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्विनी प्रदेश र प्रदेश २ भिड्ने छन् । नेपाल क्रिकेट संघ क्यानले पीएम कपका लागि सार्वजनिक गरेको खेल तालिका अनुसार हरेक दिन २ खेल हुनेछ । दाङको लमहीमा हुने खेलमा सहभागी ८ टोलीलाई २ समुहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ए को विजेता र समुह बी को उपजेताले पहिलो सेमिफाइनल खेल खेल्नेछन् । समूह बीको विजेता र ए को उपविजेता दोस्रो सेमिफाइनलमा भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल पुष १९ गते हुनेछ ।