संघीय संसद विघटनपछिको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । सात वटै प्रदेशमध्ये काम र क्षमताका हिसावले निस्प्रभावी देखिएका मुख्यमन्त्री त्रिलोचन भट्टसँगै प्रदेश सरकार संकटमा परेको हो । बागमती प्रदेशबाट सुरु भएको अविश्वासको प्रस्ताव सम्भवतः सोमवारसम्म सुदूरपश्चिम प्रदेश सरकारसम्म पुग्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका एक जना नेताले बताएका छन् । सुदूरपश्चिम प्रदेश सभामा विगतमा कमजोर देखिएको ओली पक्ष केही दिन यता बलियो बन्दै गएको छ ।
५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्य छन् । जसमध्ये यसअघि ओली पक्षका चार जना मात्र सदस्य थिए । प्रचण्ड–नेपाल पक्षका ३५ जना सदस्य थिए । सुदूरपश्चिम प्रदेश सरकारमा ओली पक्षधरका रुपमा एक जना मात्र भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा रहेका थिए । नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहले प्रदेश सरकार एकल रुपमा चलाउन सक्ने सम्भावना ओली पक्ष बलियो भएपछि भने टरेको छ ।
ओली पक्षले अहिलेसम्म ११ जना प्रदेश सभा सदस्य आफ्नो पक्षमा रहेको दावी मात्र गरेको छैन की त्यो संख्या आज साँझसम्म १४ पुग्ने दावी गरेको छ । ‘सोमवारसम्म हामी सुदूरपश्चिम प्रदेश सरकारका विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरि सक्नेछौ ।’ ओली निकटका एक जना केन्द्रिय नेताले भने– ‘सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकार ढल्ने निश्चित छ । अविश्वासको प्रस्ताव पारित हुन २७ जनाको आवश्यकता पर्नेछ । ओली पक्षले अविश्वास प्रस्तावका लागि काग्रेंस र राजपा (जसपा) सँग सहकार्यका लागि छलफल भईरहेको जनाएको छ । काँग्रेसका १२ र राजपाका दुई जनालाई समेत जोडेर अविश्वास प्रस्ताव पारितका लागि प्रदेश सभा सदस्यको आवश्यक संख्या पुग्ने ती नेताले बताए ।
‘हामीलाई आवश्यक संख्या २७ जना हो ।’ ती नेताले ठोकुवाका साथ भने– ‘हाम्रो साथमा त्योभन्दा बढी प्रदेश सभा सदस्य हुने छन् । अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि तीन जना मन्त्री पठान सिंह बोहरा, झपट बोहरा र विनिता चौधरीले मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहेको समेत बताईएको छ । तीनै जनाले ओलीलाई समर्थन गरेको ओली पक्षका केन्द्रीय नेताले बताए ।
तीन जना मन्त्री बाहेक कञ्चनपुरका महेशदत्त जोशी, डडेल्धुराकी कुन्ती जोशी, बझाङकी देवकी मल्ल, बैतडीका लिलाधर भट्ट, कैलालीका रतन थापा र नेपालु चौधरीले ओली पक्षलाई साथ दिएको ती नेताले बताए । अन्य चार जना प्रदेश सभा सदस्यले पनि आफ्नो पक्षलाई साथ दिएको र उनीहरु पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा खुलेर बाहिर आउने ती नेताको दावी छ । प्रचण्ड–नेपाल समूह कमजोर भए मुख्यमन्त्री भट्टको नेतृत्वको सरकार आगामी केही दिनमा ढल्नेछ । प्रचण्ड–नेपाल समूह बलियो भईरहे पनि मुख्यमन्त्री भट्टले भने सरकारमा निरन्तरता पाउने छैनन ।’ स्रोतले भन्यो– ‘मुख्यमन्त्री भट्टको नेतृत्व क्षमता कमजोर भएका कारण सुदूरपश्चिम प्रदेश सरकार आलोचित भईरहेकोले उनले निरन्तरता पाउने छैनन ।’
ओली पक्ष जसरी पनि सुदूरपश्चिम प्रदेश सरकार ढाल्न जुटेको छ । मुख्यमन्त्री भट्टले आफ्नो पद जोगाउनका लागि आफूलाई मुख्यमन्त्री बनाउने नेता लेखराज भट्टको साथ छोडे पनि उनले अव मुख्यमन्त्री पदमा निरन्तरता पाउने सम्भावना छैन । ओली पक्षले सकभर आफ्नै पार्टीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनाउने बताएको छ । यदपि काँग्रेसलाई साथमा लिएर जादा काँग्रेसलाई नै मुख्यमन्त्री पद दिन ओली पक्ष तयार छ । त्यसो भए काँग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावल मुख्यमन्त्रीका रुपमा अगाडी सारिनेछन् । सुदूरपश्चिममा पछिल्लो समय कमजोर मानिएका ओली पक्षधर नेता लेखराज भट्टले केही दिनमै आफ्नो पक्षमा संघीय र प्रदेश सभाका प्रदेश सदस्यसँगै पूर्व माओवादीका नेताहरुलाई पनि पारेको ती नेताले बताए ।