शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकको चहलपहल
2020/12/27, 11:14
 
sukalafata

सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल हुन थालेको छ । निकुञ्ज कार्यालयले प्रवेश अनुमति दिएपछि आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । कोरोना कहरले बन्द रहेको प्रवेश अनुमति गत कार्तिक १ गतेदेखि खुल्ला भएपछि घुम्न आउने पर्यटकहरुको संख्या विस्तारै बढिरहेको छ ।   निकुञ्ज कार्यालयका अनुसार कार्तिक र मंसीरमा तीन सय ९५ जनाले शुक्लाफाँटाको भ्रमण गरेको सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए । 

दुई महिनाको अवधिमा आन्तरिक पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरे पनि विदेशी पर्यटक भने शून्य छन् । विदेशी पर्यटक नआउँदा निकुञ्ज कार्यालयले राजश्व पनि घटेको छ । दुई महिनाको अवधि आन्तरिक पर्यटकबाट एक लाख भन्दा केही बढी रकम आम्दानी भएको सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिए । गत आर्थिक वर्षको चैत ११ गतेसम्म स्वदेशी तथा विदेशी गरी एक हजार ५ सय ७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । 

ठूलो घाँसे मैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह« सिङ्गा अवलोकन लागि प्रसिद्ध छ । गत वर्षको गणना अनुसार शुक्लाफाँटामा बाह«ा सिङ्गाको सङ्ख्या दुई हजार २ सय ७२ रहेको छ ।  यसैगरी, निकुञ्जमा १६ वटा बाघ, १७ वटा गैडाको बसोबास रहेको छ । निकुञ्जमा रैथाने बढीमा १० वटा जङ्गली हात्ती रहेका छन् । तर, भारतबाट पनि ५०÷६० वटा जङ्गली नियमित शुक्लाफाँटामा आउने गरेका छन् । यस्तै, ४५० प्रजातिको चरा शुक्लाफाँटामा पाइन्छन् । हिरापुर घाँसे मैदानमा ११३ वटा कृष्णसार खेलेको अवलोकन गर्न पाइन्छ । 
११५ वटा कृष्णसार पुगेकोमा एउटा बच्चालाई चितुवा र अर्को बच्चालाई चिलले मारेर खाइ दिएको सहायक संरक्षण अधिकृत चौधरीले बताए । नेपाल–भारत सीमा क्षेत्रमा रहेको निकुञ्जमा वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका लागि भारतीय पर्यटक धेरै मात्रामा आउने गरेका छन् । तर, सीमा नाका बन्द रहेका कारण चालू आर्थिक वर्षमा उनीहरु पनि आउन पाएका छैनन् । 

कोरोना कहरको परिस्थिति विस्तारै सहज हुँदै गएमा अब सिजनमा पर्यटक अलिकति बढ्ने अपेक्षा गरेको चौधरीले बताए । फागुनदेखि जेठसम्म शुक्लाफाँटामा पर्यटक आगमनको सिजन मानिन्छ । विदेशी पर्यटक आउन नसक्दा शुक्लाफाँटामा काम गर्ने नेचर गाइड पनि काम विहीन भएका छन् । कतिपय नेचर गाइड पेशाबाटै पलायन हुने अवस्थामा पुगिसकेका छन् । कोरोनाका कारण पर्यटन व्यवसायले गति लिन नसकेपछि पेशा परिवर्तन गर्ने अवस्था सृजना भईरहेको छ वर्षदेखि नेचर गाईडको काम गरिररहेका विष्णु पनेरुले बताए ।  

केही विदेशी पर्यटकहरु हरेक वर्ष सिजनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने गरेका छन् । थाइल्याण्ड र अमेरिकाबाट घुम्न आउने ती पर्यटकहरुलाई घुमाउनका लागि यो वर्ष पनि आफ्नो ‘बुकिङ’ रहेको पनेरु बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले घाँस नकाट्दा अहिले वन्यजन्तु सजिलै देखिने अवस्था नरहेको जनाइएको छ । निकुञ्ज कार्यालयले घाँस व्यवस्थापनमा ध्यान दिनु पर्ने नेचर गाइड पनेरुले उल्लेख गरे ।