सुदूरपश्चिम प्रदेशमा प्रदेश लिग माघमा हुने
2020/12/27, 12:06
 
anfa

सुदूरपश्चिम प्रदेशमा प्रदेश लिग माघमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वटा प्रदेशमा मध्य जनवरी अर्थात माघदेखि प्रदेश लिग फुटबल प्रतियोगिता गर्ने भएपछि सुदूरपश्चिममा माघमा हुन लागेको हो । सुदूरपश्चिमसँगै बागमति र प्रदेश नम्बर २ मा पनि सँगै प्रदेश लिने हुने एन्फाले जनाएको छ । 

सम्बन्धित प्रदेशका प्रादेशिक फुटबल प्रतिनिधिसँग एन्फाले यसबारे छलफल गर्दै मिति तय गरेको हो । सुदूरपश्चिमबाट प्रदेश लिगको छलफलमा प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ र केन्द्रिय सदस्य प्रकाश बिष्ट सहभागी भएका थिए । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दुवै पक्ष प्रदेश लिग सञ्चालनका लागि सहमत भएका छन् । छलफलपछि यी प्रदेशहरुले यही हप्ता लिगको विस्तृत प्रस्ताव एन्फा समक्ष पेस गर्नेछन् । 

एन्फाको तर्फबाट उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव ईन्द्रमान तुलाधर, प्रतिस्पर्धा निर्देशक सञ्जीव मिश्र सहभागी रहेका थिए ।  सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् । कैलाली र कञ्चनपुरमा रहेका जिल्ला च्याम्पीयनहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् ।

कैलालीबाट जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लब भएको थियो भने कञ्चनपुरबाट दीपज्योती युवा क्लब भएको थियो । प्रदेश लिगलाई कुन हिसाबले अगाडी बढाउने भने संघको बैठकले निर्णय गर्ने सुदूरपश्चिम प्रादेशिक फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । 

प्रदेशका सात वटा विजेताहरु बीचमा प्रेसिडेन्ट कप खेल्नेछन् । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार क्लबहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।