प्रदेश छनोटमा उत्कृष्ट ब्याट्स वुम्यान, सुदूरपश्चिमको टीममा अटाईनन् !
2020/12/27, 1:00
 
cricket

दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रदेशका सात टीम र एक विभागीय टीम गरी आठ टीमको सहभागीता रहेको छ । त्यसमा सुदूरपश्चिम महिला टीमले पनि भाग लिएको छ । अन्तराष्ट्रिय अनुभव बटुलेकी विन्दु रावललाई कप्तानको जिम्मेवारी दिईएको छ । तर सुदूरपश्चिमको टोली छनोटमा विभेद भएको गुनासो पनि आउन थालेको छ । तर छनोट समितिले भने नेपाल क्रिकेट संघको विधानका कारण उत्कृष्ट खेलाडीहरुलाई छनोट गर्न नसकेको स्पष्ट पारेको छ । 

पुस ४ गतेदेखि ८ गतेसम्म धनगढीमा भएको छनोट प्रतियोगिताका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा प्रदेशको टोली छानेको छनोट समितिको दावी छ । तर प्रतियोगितामा उत्कृष्ट ब्याट्स वुमन भएकी कैलालीकी चाँदनी शाह भने टीममा परिनन् । उनले प्रतियोगितामा सबैभन्दा बढी एक सय १४ रन बनाएकी थिईन् । छनोटमा नपरेकी शाहले क्यानको नियमले आफु टीममा नपरेको बताईन् । उनी प्रादेशिक क्रिकेट संघकी सदस्य हुन् । पदाधिकारीहरुले खेल्न नपाउने नियमका बारेमा आफुलाई सुरुमा थाहा नभएका्े तर पछि जानकारी भएपछि प्रदेशको टीममा नराखिएको उनले जानकारी दिईन् । 

कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष तथा केन्द्रिय सदस्य विक्रम बिष्टले जिल्लाबाट खेले पनि राष्ट्रिय प्रतियोगितामा खेल्न नपाउने नियम रहेको बताए । उनले खेलाडीहरु पनि आजभोली संघहरुमा पदाधिकारीहरु रहेकोले यस्तो समस्या आएको बताए ।  सुदूरपश्चिम छनोट समितिका सयाृजक वासुदेव जोशीले छनोटमा कुनै विभेद नभएको जिकिर गरे । आफुहरुले नियमलाई टेकेर प्रदेशको टोलीमा रहने खेलाडी छनोट गरेको दावी गरे । अफिसियलहरु वा पदाधिकारीहरुले खेलाडीको रुपमा खेल्न नपाउने नियम रहेको रहेको जोशीले बताए । 

प्रदेश छनोटमा उदयमान खेलाडी भएकी कैलालीकी मनिषा चौधरीलाई पनि वैकल्पिक खेलाडीमा राखिएको छ । लामो समयपछि क्रिकेटमा फर्किएकी कञ्चनपुरकी माया रावत पनि जिल्ला संघको सदस्य भएका कारण टीममा पर्न सकिनन् । सुदूरपश्चिमको महिला टोलीले पुस १४ गते गण्डकी प्रदेश, १५ गते वागमति प्रदेश र १६ गते प्रदेश नम्बर १ सँग प्रतिस्पर्धा गर्दैछ ।