पार्टी कार्यालय तानातान, कार्यकर्ता बीच हानाहान
नेकपा विवादको तरंगः
2020/12/27, 1:51
 
talabandi

नेकपा विवादको तरंगले सुदूरपश्चिम पनि तरंगित भएको छ । नेकपाकै नेताहरु कित्ताकाट गर्दै गुट उपगुटमा लागिरहेका वेला कार्यकर्ताहरुमा पनि त्यसको असर देखिएको छ । कार्यकर्ताहरु बीच आपसमा हात हालाहालको अवस्था आउन थालेको छ भने पार्टी कार्यालयहरु लिनका लागि तानातान समेत हुन थालेको छ । 

कञ्चनपुरमा नेकपाका २ समूहबीच हात हालाहल भएको छ । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच पार्टी कार्यालयमै हात हालाहाल भएको हो । ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले  ताला तोड्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो । पार्टी कार्यालयको अवस्था तनावग्रस्त भएपछि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो ।  दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भईरहेको छ । उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन् । 

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न परिस्थितिको असर सुदूरपश्चिममा दिन प्रति दिन पर्दै गएको छ । सोही विषयलाई लिएर सुरुमा प्रधानमन्त्री केपी ओली निकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले धनगढी स्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका थिए ।  पछि सो तालामाथि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले थप एक ताला लगाइदिए । पछिल्लो एक साता यता कैलालीको धनगढी सहित विभिन्न स्थानमा दुवै पक्षका कार्यकर्ताले नाराबाजी गर्दै एक अर्का विरुद्ध नाराबाजी गर्दै विरोध गरिरहेका छन् ।

पार्टी कार्यालयहरुमा तालामाथि ताल लगाईरहेका छन् । एक अर्कालाई नै हातपात र पार्टी कार्यालयलाई आफ्नो कब्जामा लिनका लागि हानथाप हुन थालेपछि नेकपा कैलाली र प्रदेश पार्टी कार्यालयको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपामा प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी ओली र अर्को अध्यक्ष प्रचण्ड–नेपाल समूहबीच जारी विवादका कारण हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षाकर्मी खटाइएको स्थानीय प्रशासनले जनाएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले नेकपाको प्रदेश र जिल्ला पार्टी कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउँदै सुरक्षा निगरानीमा राखिएको बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा भित्र विवाद बढेको छ । ओली र प्रचण्ड–नेपाल गरि दुई समूहमा विभाजन भएको नेकपा दुवै पक्षका नेता कार्यकर्ता एकअर्काको विरोधमा उत्रिएका छन् ।