थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक
2020/12/27, 6:14
 
tharuwan

 थरुहट थारुवान राष्ट्रिय मोर्चाले विभिन्न माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । टीकापुर घटनालाई ‘राजनीतिक’ संज्ञा दिँदै आएको मोर्चाले उक्त घटनाका दोषीमाथि पुनरावेदन अदालतले हालै सुनाएको फैसला, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनमार्फत चालेको ‘असंवैधानिक’ कदम र विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार पुस १६ गते बिहीबार थरुहट तराईका सबै जिल्लाहरु लगायत काठमाडौं उपत्यकामा माग मुद्दा मिल्ने सबै संघसंस्थाहरु बीच सहकार्यको लागि समन्वय गरी तयारीको लागि छलफल बैठक गर्ने, शुक्रबार टीकापुर घटनाको विषयमा उच्च अदालत दीपायलको फैसलाको विरोध गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गर्ने मोर्चाले जनाएको छ ।

यस्तै, पुस १९ गते मोर्चाले थरुहट तराईका सबै जिल्लामा विरोधसभा, कोणसभा, दबाब ¥याली, जनप्रदर्शन गर्ने, २० गतेदेखि माघ १७ गतेसम्म थरुहट तराईका सबै जिल्लामा मेची महाकाली थरुहट जागरण अभियान तथा वृहत् विरोधसभा गर्ने मोर्चाले जनाएको छ । जसअनुसार पहिलो चरण अन्तर्गत कञ्चनपुरमा पुस २० गते, कैलालीमा २१ गते, बर्दियामा २२ गते, बाँके र सुर्खेतमा संयुक्त रुपमा २३ गते, दाङ÷देउखुरीमा २४ गते, कपिलबस्तुमा २५ गते, रुपन्देहीमा २६ गते, नवलपुर र परासीमा संयुक्त रुपमा २७ गते र चितवनमा २८ गते वृहत सभा हुने जनाइएको छ ।

यस्तै, दोस्रो चरण अन्तर्गत झापामा माघ ६ गते, मोरङमा ७, गते सुनसरीमा ८ गते, सप्तरीमा ९ गते, उदयपुरमा १० गते, सिरहामा ११ गते, धनुषा, सर्लाही र महोत्तरीमा संयुक्त रुपमा १२ गते, रौतहटमा १३ गते, बारा र पर्साको संयुक्त रुपमा १४ गते, मकवानपुरमा १५ र काठमाडौं उपत्यकामा १७ गते त्यस्तो सभा हुने जनाइएको छ ।

मोर्चाका कार्यवाहक संयोजक श्रवण थारुका अनुसार माघ १९ गते थरुहट तराईका सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना, घेराउसहित जनप्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ ।यस अतिरिक्त विभिन्न राजनीतिक दल, नेता, सांसदहरुसँग छलफल संवाद तथा लविङ गर्ने, प्रधानमन्त्री तथा मन्त्रीहरुलाई थरुहट तराईमा निषेध तथा कालो झण्डाबाट विरोध गर्ने, नेपाल सरकारलाई माग मुद्दा पुरा गर्न दबाब दिन सरकारको हरेक कार्य तथा गतिविधिहरुमा असहयोग तथा विरोधका कार्यक्रमलाई निरन्तर गरिरहने कार्यवाहक संयोजक थारुले जनाएका छन् ।

यस्तै, माघ २३ गते थरुहट÷थारुवान क्षेत्रका सबै जनप्रतिनिधिलाई पेन डाउन गर्न लगाउने, २५ गते महिलाहरुले सबै जिल्लामा कुचो, झाडुसहित जुलुस प्रदर्शन गर्ने, २८ गते युवाहरुले सबै जिल्लामा लाठी जुलुससहित विरोध प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।
फागुन १ र २ गते मोर्चाको केन्द्रीय तथा समीक्षा बैठक बसेर थप सशक्त आन्दोलनका कार्यक्रम तय गर्ने पनि मोर्चाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।