कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख (भिडियो सहित)
2020/12/28, 5:55
 
rojgari

धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का तेजप्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले कहिल्यै विदेश नजाने सोच बनायो । तिवारीले अहिले व्यवासायिक रुपमा बाख्रापालन गरेका छन् ।

2

धनगढी उप–महानगरपालिका वडा नम्बर १ शान्ति टोलका पदमबहादुर सिंहको कोरोनाका कारण भारतको चौकीदारी छुट्यो । बाटो खर्चको जोहो गरेर नेपाल फर्किएका सिंहले अहिले कुखुरापालन गरेका छन् । ४० दिनमै ४५ हजार कमाएका सिंह अव कहिल्यै परदेश नजाने बताउँछन् ।

2

तिवारी र सिंह मात्रै होईनन् कोरोनाको कहरका बिच धनगढी उप–महानगरपालिकाका तीन वटा वडाका विदेशबाट फर्किएका र रोजगारी गुमाएका डेढ सय बढी व्यवसायिक काममा लागेर आत्मनिरभरको बाटोमा उन्मुख भएका छन् । कोरोना कहरपछि वडा नम्बर १ वडा नम्बर १४ र वडा नम्बर १६ का विपन्न वर्गहरुले विभिन्न कृषिजन्य कामहरुको थालनी गरेका हुन् ।

2

उनीहरुमध्ये कतिपयले आम्दानी गर्न थालिसकेका छन् भने कतिपय आम्दानीको पर्खाईमा रहेका छन् । धनगढी उप–महानगरपालिका १४ की बिस्ना थापाले विदेश कहिल्यै नजाने मनस्थिति बनाएर तरकारी खेती सुरु गरेको बताईन । ‘श्रीमान कामका लागि भारत जानु हुन्थ्यो ।’ थापाले भनिन्– ‘अहिले संगै आर्गानीक तरकारी खेती गरिरहेका छौं ।’ भारतमा नौकरी गरेर कमाउने पैसा गाउँमै तरकारी खेती गरेर कमाउन सकिने सम्भावना देखेकाले आफुहरुले व्यवसायी रुपमा लागेको उनले बताईन ।

कोभिड–१९ प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजना सुरु भएपछि विदेशबाट फर्किएका र रोजगारी गुमाएका विपन्न वर्गलाई स्वरोजगार बनाउन सुरु गरिएको हो । विदेशबाट फर्किएकाहरुलाई व्यावसायिक रुपमा बाख्रापालन, कुखुरापालन, तरकारी खेती, च्याउँ खेती, बंगुरपालन र होटल व्यवसाय लगायतका उद्यमहरु गर्नतर्फ परियोजनाले उत्प्रेरित गरिरहेको छ ।

2

‘व्यवसाय गर्नका लागि सबैभन्दा पहिले व्यक्तीलाई मानसिक रुपमा तयार गर्न निकै समस्या रहेछ ।’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने– ‘लकडाउनकै समयमा विदेशबाट फर्किएकाहरुको विवरण संकलन गरेर उनीहरुमा ईच्छाशक्ती जगाउनका लागि उद्यमशिलता विकास तालिम दिएर केही अनुदान र केही स्वयम्को लगानीमा व्यवसाय गर्न लगाईएको हो ।’

यूएनडिपीको सहयोगमा धनगढी उप–महानगरपालिका र जिल्ला लघु उद्यमी समुह संघले कोभिड–१९ प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजना लागु गरिएको छ । परियोजना मार्फत तीन वटा वडाका एक सय ५० जना स्वरोजगार बनेको स्थानीय वडाहरुमा कार्यक्रम कार्यान्वयन गरिरहेको लघु उद्यमी समुह संघले कोभिड–१९ प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजनाकी संयोजक चाँदनी शाहीले जानकारी दिईन् ।  परियोजना मार्फत सुरुमा तालिम दिएर व्यवसाय गर्नका उनीहरुको आवश्यकता अनुसारका सामाग्री तथा आर्थिक सहयोग गरिरहेको उनले बताईन् ।