सीमा नाकामा नाम टिप्‍नै घन्टौं
2020/12/29, 11:37
 
sima

भीमदत्त नगरपालिका–१२ ऐरीकी कलावती भट्टका माइती सीमावर्ती भारतीय बजार बनबासामा बस्छन् । कोरोना संक्रमणको जोखिमका कारण उनले लामो समयदेखि माइती भेट्न पाएकी थिइनन् । बुबा बिरामी भएपछि उनले बनबासा जान जिल्ला प्रशासनबाट सिफारिस लिइन् ।  गत साता गड्डाचौकी नाका पुगेकी उनलाई त्यहीं तीन चार घण्टा लाग्यो । नेपाल–भारत दुवैतर्फ लाइन लागेर नाम दर्तादेखि स्वास्थ्य परीक्षण गराउँदा धेरै समय लागेको हो । ‘आउने–जाने समयभन्दा पनि चेक गराउनमै बढी समय लाग्यो,’ उनले भनिन्, ‘अरू बेला आधा घण्टामै आउजाउ गर्न सकिन्छ तर अहिले चेक गर्नै तीन चार घण्टा लागिरहेको छ ।’

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि चैत दोस्रो सातादेखि नेपाल–भारत नाका बन्द हुँदा सीमा क्षेत्रका सर्वसाधारण अनेक समस्या झेलिरहेका छन् । खासगरी उपचारका लागि सीमावर्ती बजार जाने, वारिपारि बिहेबारी भएका र पेन्सन बुझ्न जानेलाई धेरै सकस भएको छ ।  पछिल्लो समय स्थानीय प्रशासनको सिफारिसमा उपचारका लागि र पेन्सन बुझ्न जान दिइए पनि नाकामा निकै झन्झट हुने गरेको उनीहरू बताउँछन् । ‘आधा दिन त नाकामा चेकिङमै सकिन्छ,’ भीमदत्त–१० का दीपक कार्कीले भने, ‘दुवैतर्फ नाम दर्ता गराउन र भारततर्फ कोरोना परीक्षणका लागि धेरै समय लाग्छ ।’ उनी गत साता उपचारका लागि भारतको खटीमा पुगेका थिए । भारतीय पक्षले एन्टिजेन परीक्षण गरेर मात्रै जान दिने गरेको छ ।

गड्डाचौकी नाकाबाट बिहान ८ देखि मध्याह्न १२ बजेसम्म मात्रै भारततर्फ प्रवेश दिइन्छ तर झिसमिसेमै भारततर्फ कामको खोजीमा जानेदेखि, उपचार, पेन्सन र भेटघाटका लागि जानेको लामो लाइन लाग्छ । सीमामा हुने झन्झटका कारण उपचारका लागि जानेलाई बढी समस्या हुने गरेको पीडितहरूको भनाइ छ ।  खटीमा वा बरेलीसम्म जानेलाई लामो समय लाइन बस्दा अस्पताल पुगेर समयमै उपचार पाउन नसकिने अवस्था रहेको भीमदत्त–१० का सञ्जय पन्तले बताए । ‘बिरामीलाई घन्टौं लाइन लाग्नु पर्दा निकै सास्ती हुने गरेको छ,’ उनले भने, ‘उपचार गराएर घर फर्किने समयसम्म लाइनमै बस्नुपर्छ ।’

अहिले गड्डाचौकी नाका हुँदै दिनहुँ ३ सयभन्दा बढी नेपाली भारत गइरहेका छन् । यसमध्ये ४०र५० जना उपचार र अध्ययनका लागि जाने छन् । पेन्सन बुझ्न जानेको संख्या पनि त्यतिकै छ । भारत तर्फबाट हुने जाँचमा बढी समय लाग्ने गरेको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी बताउँछन् ।  नाकामा झन्झट हुने भएपछि अवैध नाकाबाट भने खुलेआम आउजाउ रोकिएको छैन । महाकालीपारिको दोधारा चाँदनीसँगै बेलौरी र पुनर्वास नगरपालिकाका सीमावर्ती क्षेत्रबाट खुलेआम आउजाउ हुने गरेको हो ।  दोधारा चाँदनीबाट दैनिक सयौंको संख्यामा नेपाली किनमेलका लागि भारत जाने गरेका छन् । कुतियाकवर, बडुवालटोल, कन्जभोज र सुन्दरनगर लगायत क्षेत्रबाट स्थानीय सीमावर्ती बजार खटीमासम्म जाने गरेको खबर कान्तिपुरले लेखेको छ ।