सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा केशरबहादुर साउदलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेशको मन्त्रि परिषद्को बैठकले हालसम्म रिक्त रहेको योजना आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार आयोगमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।
आयोगको सदस्यमा बैतडीका मानदेव विष्टलाई नियुक्त गरिएको छ । महिला सदस्य अझै नियुक्त गरिएको छैन । यस्तै सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरिएको छ । सिंह संविधान सभा सदस्य समेत हुन् ।
मन्त्रि परिषद् बैठकले समितिको कार्यकारी अधिकृतमा बाजुराका भीम खड्कालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए । समितिका अन्य सदस्यहरूमा बझाङका मिश्र रोकाया, डोटीका हरि पाल थापा, अछामका लक्ष्मण खड्का र बाजुराका गणेशबहादुर शाही तथा महिला सदस्यमा डोटीकी मनीषा धानुकलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।