उद्योगमन्त्री लेखराज भट्टलेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको आरोप लगाएका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले भने, “उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ । उहाँमा वैचारिक विचलन आएको छ । पार्टी केका लागि जुट्यो ? फुट्यो ? ।” उनले प्रचण्डले केटाकेटीपन देखाएको समेत आरोप लगाए ।
दाहाल-माधवकुमार नेपालहरू सडकमा 'हामी यहाँ छौं' भनिरहेको प्रति व्यंग गर्दै बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टले भने, 'उहाँहरूलाई हामीले खोज्न जानुपर्ने स्थिति छ, कहाँ हुनुहुन्छ भनेर । देशका कुनाकाप्चामा कहाँ कहाँ हुनुहुन्छ भनेर खोज्नुपर्ने दायित्व प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ ।'
'पार्टी, संघीयता र गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्रीसँग काँध मिलाएका छौं,' भट्टले भने । पार्टीमा सैद्धान्तिक, वैचारिक, सांगठनिक समस्या के हो भन्ने कहिँ पनि छलफल नभएको भन्दै उनले त्यसको दोष दाहाल नेपाल पक्षको भएको बताए ।
भट्टले पूर्वमाओवादी एक बनौं भन्न नमिल्ने बताए । उनले एमाले र माओवादी विगत भइसकेकाले अहिले ओलीको अगुवाइमा अगाडि बढ्नुपर्ने धारणा राखे ।