धनगढी उपमहानगरपालिका–३ विशालनगरमा एक महिलाको शव फेला परेको घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । २४ बर्षीय जयन्ती जैशीको झुण्डीएको अवस्थामा शव फेला परेको थियो । घरको भान्सा कोठामा झुण्डीएको अवस्थामा फेला परेको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
हत्याको आशंकामा परिवारका २ जनालाई नियन्त्रणमा लिईएको छ । मृतक महिलाको श्रीमान र सासुलाई शव फेला परेसँगै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । जैसीको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गरिएको छ । मृतक महिलाका माईती पक्षले उनका श्रीमान र सासु विरुद्ध किटानी दिएका हुन् ।
परिवारहरुको संलग्तामा हत्या भएको भन्दै किटानी जाहेरी दिएको मृतक महिलाका बुबा मोहनराज जैशीले जानकारी दिए । ‘मेरो छोरीको आत्माहत्या होईन, हत्या नै भएको हो । उसलाई धेरै पहिलेदेखि मानसिक र शारिरीक यातना गर्दै आएका थिए । उनीहरुका घरका मान्छेले मिलेर मारेका हुन् ।’ किटानी जाहेरी दिएपछि जैशीले भने । स्थानीय वासिन्दाहरुका अनुसार मृतक महिलाको परिवारमा समय–समयमा कलह भईरहने गरेको थियो । उनको माईती घर कैलालीको पहलमानपुर हो । मृतक महिलाको झण्डै डेढ बर्षको छोरा छ ।