सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि
2021/01/02, 9:33
 
corona

सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ३ सय ९६ जनाको नमूना परीक्षण गर्दा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनाको नमुना परिक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको  प्रवक्ता कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९८ जनाको नमूना परीक्षण गर्दा १३ जना, जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १४ जनाको नमूना परीक्षण गर्दा ७ जना, र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ४९ जनाको नमुना परिक्षण गर्दा ३ जनामा र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३५ जनाको नमुना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।  

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। अस्पातलका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको बताए।  यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९ जना र बैतडीको पञ्चेश्वर गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ८० पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ११ हजार ९ जनाले कोरोना जितेका छन् भने ७१ जनाको मृत्यु भएको छ।