नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आज धनगढी आउँदै छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका सुदूरपश्चिम संयोजक समेत रहेका भट्ट आज दिउसो साढे २ बजे धनगढी पुग्नेछन् ।
प्रधानमन्त्री ओली पुस २४ गते धनगढीको खुल्ला मञ्चमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउने भएपछि त्यसको तयारी र नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकका लागि मन्त्री भट्ट धनगढी आउन लागेका हुन् ।
भट्टसंगै नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा पनि आज धनगढी आउने कार्यक्रम रहेको नेकपाले जनाएको छट । मन्त्री भट्ट सुदूरपश्चिमका ९ वटा जिल्लामा आयोजना हुने जिल्ला भेलामा सहभागि हुने कार्यक्रम रहेको छ । नेकपा प्रचण्ड– नेपाल पक्षका सुदूरपश्चिम ईञ्चार्ज भीम रावल केही दिनदेखि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमै रहेका छन् ।
दु्बै पक्षका प्रमुख नेता धनगढीमा भएपछि प्रदेशमा नयाँ समिकरणको कसरत हुने पनि अड्कल गर्न थालिएको छ । प्रचण्ड–नेपाल पक्ष प्रदेश सरकारमा बहुमत जोगाउन जुटेको छ भने ओली पक्षका नेता आफ्नो पक्षमा प्रदेशसभा सदस्यलाई ल्याउन प्रयास गरिरहेका छन् ।