सेती प्रादेशिक अस्पतालका सटरहरुको सम्झौता सकिएको छ । अस्पतालका २९ वटा सटरहरु टेण्डर मार्फत भाडामा लगाईएको समयावधि सकिएको हो । पाँच बर्षका लागि टेण्डर मार्फत भाडामा लगाईएका सटरहरुको समय गत मंसीरमा नै सकिएको हो । तर अब के गर्ने भन्ने विषय भने टुङगिन पाएको छैन् ।
अस्पतालका सटरहरुबाट अस्पतालको एक करोड सटर भाडा उठ्न बाँकी रहेको छ । झण्डै एक बर्षदेखि सटर भाडामा लिएकाहरुले भाडा नतिरेका कारण समय सकिदा पनि भाडा नतिरिएको हो । भाडामा रहेका २९ वटा सटर बापतको एक करोड भाडा अहिलेसम्म पनि नउठेकोले पुस मसान्तसम्म भाडा तिर्न ताकेका गरिएको अस्पतालका लेखा अधिकृत मदन महराले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल विकास समिति धनगढीले पाँच बर्ष अगाडी टेण्डर मार्फत भाडामा लगाइएका ३० ओटा व्यावसायिक प्रयोजनका सटरबाट साविकको भाडादर भन्दा झण्डै सात गुणा बढी मासिक भाडा पाउदैं आएको छ । एउटै सटरको मासिक पौने तीन लाख भाडा दिने गरी पनि सटर भाडामा लिईएको थियो । पाँच वर्षे टेण्डर सम्झौता गर्नुअघि सेती प्रादेशिक अस्पताल विकास समितिले ३० ओटै सटरबाट गरी मासिक ३ लाख ७ हजार रुपैयाँ पाउने गरेको थियो । तर, टेण्डर गरेपछि प्रति महिना १४ लाख ३७ हजार रुपैयाँ भाडा पाउदै छ । तर पाँचे बर्षे सम्झौता सकिएपछि अब के गर्ने विषयलाई अस्पताल विकास समितिको बैठकले निर्णय गर्ने लेखा अधिकृत महराले बताए ।
मुख्यम सडक विस्तार हुने भएकोले पनि फेरि पनि टेण्डर गर्ने की नगर्ने भन्ने दुविधा भईरहेका वेला असार मसान्तसम्म अहिलेकै भाडा दरमा व्यवसाय गर्न दिने निर्णयमा अस्पताल विकास समिति पुगेको छ । सटरहरुमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई आगामी असारसम्म व्यवसाय गर्न दिने सहमति अनुसार समयावधि बढाईएको छ । यदपी भाडा तिर्न बाँकी रहेका व्यवसायीहरुलाई पुस मसान्तसम्म भाडा तिर्न पत्र काटिएको छ ।
सटर वापत मासिक साढे १४ लाख भाडा पाउँदै आएको अस्पतालमा कोरोना महामारीको प्रभाव देखिएपछि भाडामा लिएकाहरुले सटर भाडा तिर्न आनाकानी गर्दै आएका छन् । लेखा अधिकृत महराका अनुसार एकै सटर वापतको ३६ लाख भाडा उठ्न बाँकी रहेको छ । अस्पतालका ३० वटा सटर मध्ये २८ वटा सटरहरु पाँच बर्ष अघि भाडामा दिईएको थियो भने एउटा सटर आफै बनाएर भाडा वापतको रकम सटर बनाउनेले अस्पताललाई तिर्दै आएका छन् ।
अस्पतालमा अधिकांश मेडिकलका पसलहरु रहेका छन् । कोरोना महामारीले औषधी व्यवसायलाई त्यति प्रभाव नपारे पनि त्यसको वहानमा सटर भाडामा लिएका व्यवसायीहरुले भाडा वापतको रकम दिन आनाकानी गरिरहेका हुन् । साढे १६ हजारदेखि ३६ लाखसम्म भाडा असुल गर्न बाँकी रहेकोले पटक पटक भाडा तिर्न ताकेता गरिरहेको अस्पतालका लेखा अधिकृत महराले बताए ।
पुस महिनासम्म रकम बुझाउन पत्र काटिएको र भाडा बुझाउन निर्देशन दिईएको छ । बक्यौता रकम पुस मसान्तसम्म नबुझाएमा नाम सहित सञ्चार माध्यममा प्रकाशन गर्ने निर्णय भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार केही सटरहरु भाडामा लिएकाहरुले छोडे पनि भाडा भने नतिरेरै छोडिएको छ ।
मनोज मेडिकल हलले सबैभन्दा वढी पौने तीन लाख मासिक भाडा तिर्दै आएको थियो । गत साउनदेखि सटर छोडे पनि भाडा भने तिरिएको छैन् । मुद्धाको विवाद भएपछि सटर छोडे पनि भाडा नतिरेको अस्पतालको लेखा शाखाले जनाएको छ । अस्पतालकै व्यवसायिक सटर भाडामा लिएका भक्त विष्टले सटर भाडाको रकम तिरेर सटर छोडेका छन् । अन्य सटर भाडामा लिएकाहरुले भने भाडा तिर्न अटेरी गर्दै आएका छन् ।