सुदूरपश्चिममा झण्डै ३७ हजारलाई क्वारेन्टिनमा राखिएको छ । कोरोना भाईरसको जोखिममा रहेका ३६ हजार नौँ सय ९३ जनालाई क्वारेन्टाईनमा राखिएको हो । उनीहरुमध्ये अधिकासं भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका सुदुरपश्चिमेली रहेका छन् ।
क्वारेन्टाईनमा राखिएका मध्ये ३२ हजार ६ सय ३८ जना पुरुष र चार हजार तीन सय ५५ जना महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । सबैभन्दा बढि कैलालीमा नौँ हजार चार सय ३३ जना, डोटीमा ६ हजार तीन सय २०, कञ्चनपुरमा पाँच हजार पाँच सय ९२ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।
यस्तै बैतडीमा चार हजार छ सय २६, डडेल्धुरामा तीन हजार सात सय ४७, अछाममा दुई हजार नौँ सय २०, एक हजार ८ सय ७२, बाजुरामा एक हजार ९ सय ३९ जना र दार्चुलामा आठ सय ४४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरुमध्ये अहिलेसम्म झण्डै डेढ हजारको र्यापिड टेस्ट भएको छ भने झण्डै दुई सय जनाको कोरोना परिक्षण भएको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले क्वारेन्टाईन अवधि सकिएपछि अन्यको समेत परिक्षण हुने जानकारी दिए ।