सीताराम ओझा- स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर जयराम केसी धनगढी आएको ६ बर्ष भएको छ । यो अवधिमा स्वयम डाक्टर केसी धनगढीमा जमेका मात्रै छैनन् की उनको सेवाले धेरै जना लाभान्वित पनि भएका छन् । अहिले उनले धनगढीको नवजीवन अस्पतालमा स्वास्थ्य सेवा दिईरहेका छन् । काठमाण्डौंका वासिन्दा उनी । घर परिवारका अधिकांश सदस्य रुसमा । तर पनि उनी धनगढीमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
२०७१ साल भदौ १६ गते धनगढीमा पाईला टेक्दा उनलाई पनि सुदूरपश्चिम अरुले भनेको जस्तै लाग्यो । सवै किसिमको सेवा सुविधा कम थियो । यति धेरै टाढा होला पनि भन्ने सोचेका थिएनन् उनले । धनगढी आउनु अघि उनी पोखरा लुम्बीनीसम्म मात्रै घुमेका थिए । त्योभन्दा पश्चिम आएका थिएनन् । हवाई यात्राबाट सुरुमा धनगढी पुग्दा त्यति टाढा नलाग्दा पनि वस यात्रा गर्दा भने उनलाई साच्चिक्कै दुर नै रहेछ भन्ने लाग्यो ।
धनगढी आउनुको प्रसंग पनि वेग्लै छ उनको । नवजीवन अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकाल र उनी क्लासमेड । सँगै पढेको पनि । ढकालले नवजीवन अस्पताल हाकेको केही बर्ष भईसकेको थियो । उनको भेट ढकालसँग भयो । हाडजोर्नी रोग विशेषज्ञ डाक्टर ढकालले केसीलाई धनगढी आउन प्रस्ताव राखे । त्यसमा राजी भएपछि उनी धनगढी आएका हुन् । अस्पतालमा नेपाल सरकारकोआमा सुरक्षा कार्यक्रम संञ्चालन भएको थियो । त्यसलाई अझ प्रभावकारी बनाउन पनि ढकालले केसीलाई प्रस्ताव गरेका थिए । एकातिर काम अर्कोतिर अस्पतालको सञ्चालकको रुपमा पनि उनी यहाँ पुगेका हुन् । धनगढी आउँदा थालेको कर्मको पनि ६ बर्ष वितिसकेको डाक्टर जयराम केसीको ।
धनगढी बसाईमा केही गुमाए पनि धेरै पाएकै महसुस गरेका छन् उनले । काठमाण्डौंमै भएको भए उनको क्यारियर अर्कै हुन्थ्यो होला । बालबच्चाहरुलाई सँगै राखेर सुविधा सम्पन्न ठाउँमा पढाउन सकिन्थ्यो होला । घर परिवारका सदस्यहरुभन्दा टाढा बस्नु पर्दैनथ्यो होला । तर उनी आफुले गरेको निर्णयमा सही नै गरियो भन्नेमा छन् । यहाँका विरामीहरुको विश्वास जित्न सक्नुलाई नै सबैभन्दा ठुलो सफलता मान्छन् केसी । सबैको चित्त बुझाउन नसकिएको होला तर आफ्नो तर्फबाट राम्रो सेवा दिँदा विरामीको विश्वास सबैभन्दा ठुला मान्ने गरेका छन् उनले ।
सुरुवातका दिनमा उनलाई पनि निकै वित्यास लाग्ने गथ्र्यो । सुरुमा एक दुई जना गर्भवतीहरुको जाँच गर्थे । महिनामा सात आठ जना सुत्केरी हुन अस्पताल आउँथे । अधिकांश गर्भवती र सुत्केरीहरु भारतका विभिन्न शहर तथा देशका अन्य भागमा जाने परिपाटी थियो । तर अहिले अवस्था बदलिएकोमा केसी पनि खुशी छन् । उनले दिनमा पचास साठ्ठी जना गर्भवती तथा महिला विरामीहरुको जाँच गरिरहेका छन् । दिनमा सात आठ जना सुत्केरीको शल्यक्रिया गरिरहेका छन् । उपचारका लागि अन्यत्र जाने क्रम पुरै रोक्न नसकिए पनि अन्यत्र जानेको संख्या घटेको छ भन्ने लागेको छ उनलाई ।
डाक्टर केसी आउँदा केही स्त्री रोग विशेषज्ञ भए पनि बाल रोग विशेषज्ञको अभाव थियो । अहिले धनगढीमा अस्पताल पिच्छे नै बालरोग विशेषज्ञ तथा स्त्री रोग विशेषज्ञ रहेका छन् । यसले पनि महिलाहरुलाई उपचारमा सहज भएको लागेको छ उनलाई । अस्पतालहरु धमाधम खुलिरहेका छन् । आईसियु एनआईसियुको सुविधा धनगढी भएको छ । विरामीहरुले छनोटका आधारमा सेवा पाएका छन् । एक अस्पतालको सेवा मन नपरेमा अर्को जाने मौका छ । यसलाई अवसरकै रुपमा लिएका छन उनले । जसले विरामीको मन जित्न सक्छ विरामीहरु त्यही उपचारका लागि जान सक्ने वातावरण सिर्जना भएको मान्छन् केसी । उनकै शब्दलाई सापटी लिएर भन्ने हो भने खाली पोष्टमा गोल गर्नुभन्दा गोल किपर भएको पोष्टमा गोल गर्नुको मज्जा बेग्लै हुन्छ ।
विशेषज्ञ सेवाको लागि विरामीहरुले छनोटको अधिकार पाएका छन् । चिकित्सकहरुमा पनि प्रतिस्पर्धा हुन थालेको छ । जस कारण राम्रो सेवा दिनुपर्ने चुनौती पनि छ । त्यही भएर सही समयमा विश्वासिलो उपचार दिनुपर्ने ठान्छन् उनी । अस्पतालहरुको स्थापनाले पनि विरामीहरुलाई यही होल्ड गर्न सकिएकोको सकारात्मक सोच राख्ने केसी जति अस्पताल खुलेपनि विरामी घट्नुको साटो बढिरहेको बताउँछन् । पहिले बाहिर जाने विरामीहरु धगनढीमै होल्ड गर्न सकिएका कारण विरामीहरु झन बृद्धि भएको उनको अनुभव छ ।
सुदूरपश्चिमका महिलाहरुमा गर्भवती र जटिल समस्याहरुको विकराल अवस्थामा पनि सुधार आउँदै गरेको देखेका छन् उनले । डाक्टर नभएर वा नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ भन्छन् । गर्भवती महिलाले नियमित चेकजाँच, गुणस्तरीय र पोषणयुक्त खाना पाउन थालेका छन् । उनी आउँदा विभिन्न स्थानहरुमा पाठेघर खसेको, क्यान्सर लगायतका धेरै समस्याहरु भएका महिलाहरु उपचारका लागि आउने धेरै थिए । तर विस्तारै त्यो पनि घट्दै गएको छ । शिविर चलाउँदा पनि कम संख्यामा मात्रै महिला आउन थालेका छन । पहिले महिलाहरु आफ्ना समस्या भन्न पनि लाज मान्ने र लुकाउने प्रवृति थियो । त्यो पनि हट्दै गएको छ । डाक्टर केसीले महिला स्वास्थ्यमा सुधार भईरहेको आभास गरेका छन् ।
डाक्टरलाई भगवानकै संज्ञा दिईन्छ । तर अहिलेकाही नसोचेका घटनाहरु पनि हुने गरेका छन् । त्यसको शिकार चिकित्सकहरुले पनि हुनु परेको छ । जटिल समस्या हुँदा घर परिवारका सदस्यहरुलाई सम्झाएकै हुन्छ । भनेकै हुन्छ । जहाँ पनि जे पनि गर्न तयार छु । उपचार गरि दिनु पर्छ भनेर हार गुहार गर्छन् । तर पनि बँचाउनै पर्छ भनेर हर प्रयास गर्दा पनि कहिलेकाही हातबाट उम्किदा अवजस मात्रै पाईने केसी बताउँछन् । त्यसमा अझ अस्पताल आएका शत प्रतिशत मानिसहरु बाँच्छन् भन्ने ग्यारेन्टी पनि हुदैंन तर बार्गेनिंग गर्ने समुहहरुको सक्रियताले पनि सामान्य घटनाहरुलाई उचाल्ने परिपाटीको सामना स्वयम केसीले पनि गरेका छन् । उनी जानी जानी कुनै पनि डाक्टरले विरामीहरुको ज्यान लिने कुरामा एक प्रतिशत पनि सहमत छैनन् ।
डाक्टर केसीको परिवार अझैं पनि संयुक्त नै छ । चार जना दाजुभाईमध्ये उनी साईलो । १५ बर्ष अघि नै बुबाले संसार छोडेकोमा गत बर्ष आमाको निधन भएको छ । उनको जेठो दाई हाईडो ईन्जिनियर छन् । माईलो र कान्छो रसियमा व्यवसाय गरेर उतै जमेका छन् । उनी भने धनगढीमा विश्वास जितीरहेका छन् । घरको एक जना डाक्टर हुनुपर्यो भन्ने पारिवारिक चाहनाले उनी डाक्टर भएका हुन् । काठमाण्डौंको घर नजिकैको त्रिभुवन आदर्श माविबाट एसएलसी सकेर उच्च शिक्षा पढ्न उनी रसिया गए ।
प्लस टु म्यानेजमेन्टमा गरेपछि पारिवारिक चाहना अनुसार उनले एमबीबीएस पढे । मस्कोमा डाक्टरको पढाई सकेर काठमाण्डौं फर्किएर झण्डै चार बर्ष प्रसुती गृहमा काम गरे । फेरि एमडीका लागि रसिया गए । एमडी पनि सिद्धाएर प्रसुती गृहमै काम सुरु गरे । दुई बर्ष जति त्यहाँ काम गरिरहेकै बेला उनी प्रसुती गृहको जागीर छोडर धनगढी आएका हुन् । डाक्टर केसीले ६ बर्षको धनगढी वसाईमा धेरै आरोह अवरोह पनि पारे गरे । परिवार सहित यसै बसेका उनी कति बस्छन् उनलाई नै थाहा छैन् । आउँछु भन्ने सोच पनि बनाएका उनलाई धनगढीमा आएकोमा पनि कुनै पछुतो छैन् । जति समय बस्छन् राम्रै काम गर्ने र विरामीहरुको विश्वास जित्ने ध्यय बोकेका छन् उनले ।