सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री बोहोराले पदबाट राजीनामा दिएका हुन् ।
नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।
बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए। तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।
नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट निकट मानिने बोहरा यसअघि पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका थिए। उनले राजीनामा दिएसँगै सुदूरपश्चिममा ओली समूूहमा ७ जना प्रदेशसभा सदस्य खुलेका छन्।
यसअघि पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओलीको पक्षमा खुलिसकेका छन्।