सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहराले राजीनामा दिनुको यस्तो छ कारण (भिडियो सहित) 
2021/01/06, 4:05
 
jhapat bohara

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् । 

बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएको बताए । यदपी उनलाई ओली समुहको केन्द्रिय सदस्यमा मनोनित भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले लाईन क्लियर गर्न नभए राजीनामा दिन निर्देशन दिएका थिए भने ओली पक्षले राजीनामा दिन दबाब दिदैं आएको थियो ।

सुदूरपश्चिम सरकारमा माधव प्रचण्ड समुहको बर्चश्व रहदैं आएको छ ।  उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यस अघि नै पदमुक्त गरेका थिए ।

बर्खास्त गरिएका भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहोरा पहिलेदेखि नै ओली समुहमा खुलेर लाग्दै आएका थिए । अर्थमन्त्री झपट बोहरा भने राजीनामा दिएपछि ओली समुहमा खुलेर लागेका हुन् । 

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।  तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।  

नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट निकट मानिने बोहरा यसअघि पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका थिए।   उनले राजीनामा दिएसँगै सुदूरपश्चिममा ओली समूूहमा ७ जना प्रदेशसभा सदस्य खुलेका छन्।

यसअघि पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओलीको पक्षमा खुलिसकेका छन्।