सुदूरपश्चिम प्रदेशबाट भएका चार मन्त्रीको एकै स्वरः ‘सरकारले धेरै काम गरेको छ’
2021/01/06, 7:25
 
nekapa

सुदूरपश्चिम प्रदेशबाट भएका चार मन्त्रीले सरकारले धेरै काम गरेको दावी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा –ओली समूह) सुदूरपश्चिम प्रदेश कमिटिको बैठकमा संघीय सरकारमा रहेका चार वटै मन्त्रीहरुले सरकारको कामको वर्णन गर्दै धेरै काम गरेको दावी गरेका हुन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले धेरै काम गरिहरेको दाबी गरेका छन् । मन्त्री भट्टले वर्तमान सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको दाबी गरेका हुन् । ‘हिजो घुँडासम्मका खाल्डो हुन्थ्यो अहिले गाउँ गाउँमा सडक कालोपत्रे भएको छ ।’ उनले भने–‘अहिले सबै क्षेत्रमा सरकारले उत्कृष्ट काम गरेको छ ।’

सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले भारतले मिचिएको भूमि फिर्ता ल्याउने विषयमा पनि कूटनैतिक प्रयास भईरहेको बताए । ‘वर्तमान सरकारले भारतले मिचेको भूमी सहितको नक्सा सार्वजनिक गर्ने अाँट गरेको छ ।’ मन्त्री ठगुन्नाले भने– ‘अब त्यो भूमि फिर्ता ल्याउने विषयमा छलफल भईरहेको छ ।’

विगतमा विकास निर्माणको काममा वन मन्त्रालय वाधक बने पनि अब भने सहजै काम हुने वन मन्त्री प्रेम आलेले बताए । मन्त्री आलेले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिएको समेत जानकारी दिए । ‘२ वर्ष हुने काम २ महिनामा सक्नु भनेको छु ।’ उनले भने– ‘विगतको जस्तो सुस्त गतिमा नभई द्रुत गतिमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएको छु ।’

श्रम मन्त्री गौरीशंकर चौधरीले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाइने बताए । उनले वैदेशिक रोजगारीमा हुने ठगी अन्त्य गर्ने र श्रम स्वीकृतिलाई सहज बनाईने समेत दाबी गरेका छन् ।  प्रदेश अध्यक्ष कर्ण थापाले अध्यक्षतामा प्रदेश कमिटीको चौथो बैठक बसेको थियो । जसमा प्रदेश कमिटी थप गरेर पाँच सय ५१ सदस्यीय बनाईएको छ ।

कार्यक्रममा अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कदम उचित भएको बताए । उनले संसद् भङ्ग गर्ने विशेष अधिकार प्रधानमन्त्रीसँग रहेको भन्दै अदालतले राजनीतिक निर्णयमा हस्तक्षेप नगर्ने विश्वास व्यक्त गरे ।