सुदूरपश्चिम प्रदेशका थप ७ जनामा कोरोना संक्रमण पुष्टि
2021/01/06, 8:47
 
corona

 बुधबार सुदूरपश्चिम प्रदेशका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ५ वटा प्रयोगशालामा १ सय १६ जनाको नमूना परीक्षण गर्दा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १६ जनाको नमुना परिक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ६ जनाको नमूना परीक्षण गर्दा ७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १० जनाको नमूना परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि नभएको कार्कीले बताए।   सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका थप ६ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका ५ जनामा संक्रमण देखिएको जानकारी दिए। 
यस्तै कैलालीकै गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका १/१ जनामा समेत संक्रमण पुष्टि भएको छ।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ७५ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ११ हजार १ सय २ जनाले कोरोना जितेका छन् ।