नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न भोलि धनगढी आउँदैछन् । प्रधानमन्त्री ओली पार्टी विभाजन र संसद विघटनपछि पहिलोपटक उपत्यकाबाहिर आउन लागेका हुन् । प्रधानमन्त्रीले सम्बोधन गर्ने धनगढीको सभामा ५० हजार नेता कार्यकर्ता उतार्ने दावी नेकपा सुदूरपश्चिमको छ । सभामा जनता ल्याउन साढे तीन सय बस परिचालन गर्न नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले निर्देशन दिएका छन् । बुधबार धनगढीमा भएको बैठकमै उनले आफूसँग मोटरसाइकल भएका नेता कार्यकर्तालाई तीन जना बोकेर ल्याउन समेत उर्दी दिएका हुन् ।
प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताए । ‘संसद विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थीतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउछौ,’ सुवेदीले भने । प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुस २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै आज बैठक सम्पन्न गरेको छ । प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।