नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले आफूविरुद्ध कुप्रचार गर्नु अराजक र उछृंच्खलता प्रवृत्ति मात्रै भएको टिप्पणी गरेका छन्। पार्टी विभाजनपछि रावलले नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको खाताबाट ३० लाख रकम हिनामिना गरेको प्रधानमन्त्री केपी शर्मा ओली समूहले आरोप लगाउँदै आएको छ।
ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापालाई जानकारी नै नगराई कृषि विकास बैंकमा रहेको पार्टीको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले निकालेपछि ओली समूहका नेताहरुले रावलमाथि आक्रोश पोखिरहेका छन्।
यही विषयमा रावलले ट्विटरमा प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा आफूलाई रकमको ‘अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालीगलौज गर्नु अराजक र उच्छृंखलता मात्र भएको लेखेका छन्।
'नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको 'अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालिगलौज गर्नु फुटबादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उच्छृंखलता मात्र हो।'