प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक राजधानीबाहिर आउँदैछन् । ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । सूदुरपश्चिमका प्रभावशाली नेता भीम रावल र मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको हो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम समेत रहेको बताए ।