प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थलमा पुगेका छैनन् । नेकपा ओली समूहले धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका ओलीलाई स्वागत गर्न मुख्यमन्त्री नगएका हुन् ।
मुख्यमन्त्री बाहेक प्रदेश सरकारका अन्य मन्त्रीहरु पनि धनगढी विमानस्थल पुगेका छैनन् । नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकोले स्वागतका लागि नपुगेको बताईएको छ । जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरुलाई स्वागतको लागि पत्रचार गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीको स्वागतमा नगएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए । उनले गुटको भेला भएका कारण पनि जानकारी नगराईएको हुन सक्ने बताए ।
प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक धनगढी आएका हुन । तर उनको प्रतिनिधि सभा विघटनको कदमबारे नेकपाको प्रचण्ड–माधव समूहले कडा विरोधमा छ ।