सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई १५ दिनभित्र पदमुक्त गर्ने चेतावनी
2021/01/08, 8:16
 
cm bhatta

प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश पुग्दा मुख्यमन्त्री त्रीलोचन भट्ट लगायत मन्त्रीहरु स्वागतका लागि पुगेनन् । भट्ट नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहबाट मुख्यमन्त्री बनेका हुन् ।

नेकपा विभाजनपछि प्रचण्ड समूहमै रहेका उनले स्वागतमा नगएर असन्तुष्टि व्यक्त गरे । भट्ट स्वागतका लागि विमानस्थल नपुगेपछि सुदूरपश्चिमको नेकपाभित्रको राजनीतिमा थप तरंग आएको छ । विमानस्थलमा भट्ट नदेखिए पछि मन्त्री प्रेम आलेले त उनको कडा आलोचना गरे । भट्टलाई पदमा रहन नदिइने सम्मको चेतावनी दिएको बुझिएको छ ।

नेकपा विभाजनको असर प्रदेशको राजनीतिमा समेत देखिएपछि प्रधानमन्त्री ओली पनि रुष्ट भएका छन् । विश्वस्त स्रोतका अनुसार उनले कडा कदम चालेर भएपनि भट्टलाई हटाइछाड्ने दृढता व्यक्त गरेका छन् । अविश्वासको प्रस्ताव ल्याएर वा प्रदेश सभा बिघटन गरेर भएपनि भट्टलाई हटाउने तयारी भएको बुझिएको छ ।

१५ दिनभित्र भट्टलाई देखाइदिने ओली पक्षका नेताहरुले आन्तरिक छलफलमा भनेको स्रोतले बतायो । यसले प्रदेश सरकार समेत धमाधम बिघटन हुनसक्ने संकेतहरु देखिएको छ । प्रधानमन्त्री ओलीले प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव ल्याइएपछि प्रदेश सरकार ढल्ने अवस्था भए बिघटनकै तयारी गरेको बुझिएको छ ।