ओली भन्छन्– भगौडाहरु अश्लील गालीगलौज गरिरहेका छन्, रावल भन्छन्– प्रधानमन्त्री नै भगौडा हुन्
नेकपाको चिरामा भगौडा दोहोरीः 
2021/01/08, 9:46
 
nekapa

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (प्रचण्ड–माधव समुह) का नेता डाक्टर भीम रावलले बीच एक अर्कालाई भगौडाको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले रावलको प्रदेशमा आएर र रावलले संघीय राजधानी काठमाण्डौं गएर एक अर्कालाई आरोप प्रत्यारोप लगाएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छाडेर भागेका भगौडाका कुरामा प्रभावित नहुन आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनपछि पहिलो पटक उपत्यका छाडेर सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले पार्टी छाडेर हिँडनेलाई भगुवाको संज्ञा दिए ।

‘केन्द्रीय कमिटी बैठकमा बोलाउँदा नआएर कता गए भन्दा बाटोमा बसेर हामी यहाँ छौँ’ भनिरहेको पो देखियो ।’ ओलीले बृहत् आमसभामा भने–‘पार्टी बैठक छाडेर भागेकाहरूले केके आरोप लगाईरहेका भेटिन्छन्, त्यस्ता भगौडाको कुरामा प्रभावित नहुन आग्रह गर्दछु ।’ राजनीतिक रूपमा विभाजित भएर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह र भीम रावललाई नै ईगिंत गर्दै ओलीले अश्लील गालीगलौजमा उत्रेको आरोप लगाए ।

‘प्रचण्ड–नेपालहरूले आफू अगाडि बसेको छन्, त्यसका पछिपछि अश्लील भनिएका नारा लागेका छन । उहाँको नेता भनिएका मान्छेहरू गालीगलौज गरेर हिँडिरहेका छन ।’ ओलीले भने–तर हामीलाई बाझबाझ र दन्तबझान गर्न फुर्सद छैन, हामी गर्दैनौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो धनगढीमा दिएको अधिव्यक्ती प्रति प्रचण्ड–माधव समूहका नेता डाक्टर भीम रावलले जवाफ फर्काएका छन् । राजधानीमा अछाम–काठमाडौं सम्पर्क मञ्चले गरेको नेकपा बृहत कार्यकर्ता भेलामा उनले भने–‘नेपालको कम्युनिष्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शीर झुकाउने गरी अँधेरी रातमा सामन्तलाई भेट्ने, नेकपाको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर १ को हो भने केपी शर्मा ओली हो ।’

प्रधानमन्त्रीको शयन कक्ष नजिकै पार्टीको स्थायी कमिटीमा उनी नआएको प्रसंग झिक्दै नेता रावलले ओली नै भगौडा भएका बताएका थिए । स्थायी कमिटी बैठकमा नआएर दुई पन्ने पत्र पठाएर प्रधानमन्त्री ओली नआएको उनले बताए ।