प्रचण्डले शहिद, घाइते र अपांगलाई बेवास्ता गरे: मन्त्री भट्ट
2021/01/08, 9:55
 
corona

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले जनयुद्धका शहीद, घाइते र अपांग कार्यकर्तालाई बेवास्ता गर्ने प्रचण्डले माओवादी लिगेसीको कुरा गर्न नमिल्ने बताएका छन् । माओवादी लिगेसीको कुरा गर्दा पहिलो लालगद्दार प्रचण्ड र त्यसपछि मात्र आफूहरू भएको उनको भनाइ थियो ।

धनगढीमा नेकपा ओली समूहले शुक्रवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता भट्टले आफू नेकपाको मूलधारमा रहेको जिकिर समेत गरे ।  ‘शहीद परिवारलाई प्रचण्ड कमरेडले सम्झिनुभएन, जो हिजो परिवर्तनका लागि युद्ध लडेका थिए, उनीहरू आज खाडीमा छन्, भारतका गल्लीमा भौँतारिइरहेका छन् । अनि माओवादी लिगेसीको कुरा गर्नुहुन्छ ?’ भट्टले भने, ‘हिजो नारायणकाजीसँग एकता गर्दा कहाँ गयो माओवादीको लिगेसी ? मोहन वैद्य र विप्लवलाई अलग गर्दा लिगेसी कहाँ गयो : लालगद्दार हो भने पहिला प्रचण्ड हो, त्यसपछि मात्र हामी हौँ ।’

नेता भट्टले प्रचण्डले ३३ वर्षसम्म नेतृत्व हस्तान्तरण नगरेर पार्टी चलाउँदा पनि आफूहरूले हीनताबोध महशुस भयो भनेर नभनेको स्मरण गरे । ‘प्रचण्ड कमरेडले ३३ वर्षसम्म खल्तीबाट पार्टी चलाउनुभयो, हामीले कहिल्यै भनेनौं हीनताबोध महशुस भयो भनेर । भदौ २६ गतेको स्थायी समिति बैठकले ओलीलाई सरकारको काम अगाडि बढाउने जिम्मा र प्रचण्डलाई कार्यकारीको हैसियतमा महाधिवेशन गर्ने जिम्मा दिएका थियौं । उहाँले महाधिवेशनको तयारी होइन, फूटको तयारी गर्नुभयो,’ भट्टले भने ।