प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटमा विभेद गरेको आरोप
च्याम्पीयन टीमका चार जना मात्रै बन्द प्रशिक्षणमा
2021/01/09, 10:46
 
sports

माघ २ गतेदेखि काठमाण्डौंमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोटमा विभेद गरेको आरोप लागेको छ । प्रतियोगिताका लागि १४ सदस्यीय टोली बनाउन बन्द प्रशिक्षणका लागि बोलाईएका खेलाडीहरुमाथि विभेद गरेको आरोप लागेको हो । प्रदेश छनोट प्रतियोगिताको च्याम्पीयन बनेको टीमबाट छनोट प्रतियोगिताको पुछारमा रहेकै जिल्ला सरहका खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाईएपछि क्रिकेट खेलाडी छान्नमा विभेद गरेको आरोप अछाम जिल्ला क्रिकेट संघले लगाएको छ । 

2

सुदूरपश्चिम प्रादेशिक क्रिकेट समितिका अनुसार प्रदेश च्याम्पीयन बनेको अछाम जिल्लाबाट चार जना मात्रै खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएपछि छनोटमा मनोमानी गरिएको आरोप लागेको छ । उपविजेता बनेको बैतडीबाट सबैभन्दा वढी सात जना खेलाडी छनोट भएका छन् । प्रदेशका आठ टीम सहभागी भएको प्रदेश छनोटमा पाचौैं स्थानमा रहेको कैलालीबाट सबैभन्दा बढी सात जना बन्द प्रशिक्षणमा परेका छन् ।

त्यसैगरी तेस्रो भएको डडेल्धुरा र चौथो भएको कञ्चनपुरबाट  ६÷ ६ जना जना बन्द प्रशिक्षणमा परेका छन् । त्यसैगरी छैटौं भएको बझाङ्ग र सातौं भएको डोटीबाट ३÷३ जना र आठौं भएको दार्चुलाबाट एक जना छनोट भएका छन् । नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रिय सदस्य धिरेन्द्र सावँदले च्याम्पीयन जिल्लाबाट चार जना मात्रै परेको भन्दै विरोध जनाएका छन् । 

अछाम जिल्ला क्रिकेट टिमका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बिजेता टिम भएको थियो यो सबै लाई जगजाएर नै छ तर बिडम्बना भन्नूपर्छ जुन टिम प्रथम भएर प्रदेश च्याम्पीयन हुन सफल भयो यो जिल्लाबाट राष्ट्रिय प्रतियोगिताको लागि प्रादेशिक टिम छनौटको लागि प्रादेशिक क्रिकेट संघले आव्हान गरेको ३७ जनाको क्लोज क्याम्पमा  बिजेता टिम अछामबाट जम्मा ४ जना खेलाडी मात्रै पर्नु यो बिडम्बना हो । यो कस्तो छनौट मापदण्ड हो ?’ सावँदले भने–‘अछाम टिमका खेलाडीले बिना खेल प्रदर्शन गरेरै प्रतियोगितामा गोलाप्रथाको आधारमा अछामलाई विजेता घोषण गरिएको हो र ? ३७ जनामा ४ जना मात्र समिटिने ? होईन भने किन खेल र खेलाडीमाथि खेलवाड हुदैछ ।’ 

निवर्तमान केन्द्रिय सदस्य सावँदले खेलाडीहरुको प्रदर्शनको आधारमा टीम छनोट हुनुपर्ने माग गरेका छन् । उनले क्रिकेट संघका पदाधिकारीहरुले आफ्ना जिल्लाका खेलाडीहरु बढी पर्ने गरी अनुहार हेरेर टीममा पारेको आरोप समेत लगाए । ‘छनौट को मापदण्ड के ? खेलाडीको अनुहार हेरेर हो वा आफ्नो नजिक भएका लाई या जिल्लामा भएका केन्द्रिय सदस्य र प्रदेशका पदाधिकारीका कोटाको आधारमा हो कि के ? यदि हो, भने सायद यहाँ म धिरेन्द्र सावद पनि छु भन्ने बिर्सिनु भा जस्तो छ ! गलत माथि आवाज उठाईन्छ !’ उनले अगाडी भने–‘खेलाडीहरुको मनोबल खस्किन नदिउ, प्रतियोगितामा खेलाडीको प्रदर्शनको आधारमा खेलाडी छनौट होस् । आफू खुशी चिनजान, पावोर, कोटाको आधारलाई खेलाडी मापदण्डको आधार नबनाउ । तसर्थ पुनः शुद्ध तरिकाले खेलाडीको प्रदर्शनको आधार र खेलाडी प्रति न्यायोचित भई खेलाडी छनौटको माग गर्दछौं ।’

काठमाण्डौंमा माघ २ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक भईसकेको अवस्थामा प्रदेशको छनोट समितिले ३७ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । डडेल्धुराका बासुदेव जोशी संयोजक रहेको छनोट समितिका सदस्य विनोद क्षेत्री र कैलालीका कमलराज जोशी सम्मिलित टोलीले खेलाडीहरु छनोट गर्दै बन्द प्रशिक्षणका लागि सिफारिस गरेको हो । छनोट समितिका संयोजक वासुदेव जोशीले खेलाडीहरुको प्रदर्शनका आधारमा खेलाडीहरु छनोट भएको भन्दै विभेद नगरेको स्पष्ट पारे । ‘छनोटमा च्याम्पीयन जिल्लाकै बढी खेलाडी हुनुपर्छ भन्ने होईन । चार जनाले राम्रो खेले चार जना परे । दुई जनाले फाईनल जिताए । यसमा त एक जनाले मात्रै पनि खेल जिताउन सक्छ । तर हामीले खेलाडीको समग्र प्रदर्शनलाई हेरेर खेलाडी छानेका हौं ।’ संयोजक जोशीले भने–‘कोले कस्तो खेल्यो त्यो वाच हुने हो । राम्रो खेलाडी कोही पनि नछुटोस भन्ने हो । प्रदेशको टीम बन्दा चार १४ जनाको टीममा पनि पर्छन की पर्दैनन् । त्यो पनि भन्न सकिदैंन । खेलाडीहरुले खेलेको आकँडालाई नै हेर्ने हो ।’ 

शनिबारदेखि बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको महेन्द्रनगरमा बन्द प्रशिक्षण सुरु भएको छ । माघको सुरुमा बन्द प्रशिक्षणबाट १४ सदस्यीय टीम बनाईनेछ । माघ ५ गते सुदूरपश्चिम प्रदेशले पहिलो खेल खेल्ने भएकोले तीन गते टोली काठमाण्डौं प्रस्थान गर्नेछ । खेलाडी छनोटमा कुनै विभेद र भेदभाव नभएको सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए । च्याम्पीयन जिल्लाका खेलाडी कम पर्यो भन्नुमा आफ्नो आफ्नो बुझाई हुने भन्दै त्यसमा क्षमता भएका कुनै पनि खेलाडी नछुट्न भनेर नै ३७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको बताए ।

‘प्रदेश च्याम्पीयन भयो भन्दैमा सबै खेलाडी पर्ने हुदैंन । जसले राम्रो गरेको छ । उ पर्ने हो । एक जनाले पनि टीमलाई जिताउँछन । सवै हेरेर टीम बनाउने हो । कुनैमा ब्यमट्म्या राम्रो होला । कुनैमा बलर राम्रो होला । कुनैमा विकेट किपर राम्रो होला । त्यसैले सवै क्षेत्रका खेलाडीहरु समेटेर प्रदेशको राम्रो टीम बनाउने हो ।’ अध्यक्ष रेग्मीले भने–‘प्रदेशले राम्रो खेलेमा हामीले पनि जस लिन पाउँछौं । विगतमा जस्तो जिल्लालाई भाग लगाउने परिपाटी बन्द गरेका छौं । अवदेखि त्यो हुदैंन । कुनै जिल्लाका आठ दश जना पनि पर्छ सक्छन् । कुनै जिल्लाका एक जना पनि नपर्न सक्छन् । १४ जनाको टीम निकाल्न सकस भएर नै त राम्रा खेलाडी नछुटुन भनेर बन्द प्रशिक्षण गरेका हौ । तीन वटा टीम बनाएर अभ्यास हुन्छ । त्यसमा राम्रो गर्ने टीममा पर्छन् । छनोटमा वायस भएको छैन । हुदैन पनि । फेयर गर्न छनोट समितिलाई निर्देशन दिएका थियौं । त्यही आधारमा बन्द प्रशिक्षण थालेका छौं । त्यही अनुसार प्रदेशको टीम बन्छ ।’