कैलालीको त्रिनगर नाका भएर भारतबाट फर्किने क्रम जारी, मनकारीहरुको खाना पानी, रिचार्ज दिने कार्यक्रमहरु यथावत 
 
sima

कोरोना भाईरसका कारण लकडाउनमा परेर भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक हजारौं नेपाली श्रमिकहरु नेपाल फर्किरहेका छन् । गत जेष्ठ २ गतेदेखि नेपाली श्रमिकहरुका लागि कैलालीको त्रिनगर भन्सार नाका खुला गरेपछि नेपालीहरु आउने क्रम बढेको हो । जेष्ठ दुई गतेदेखि हालसम्म त्रिनगर भन्सार नाका भएर साढे ३७ हजार नेपालीहरु भित्रिएका छन् । जसमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका साथै देशका विभिन्न जिल्लाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार यसरी भित्रिनेहरुमा सुरुको दिनमा आएका केहीको सिमामा ¥यापिड टेष्ट गरिएपनि त्यसपछिदेखि आजसम्म आएकाहरुलाई सामान्य ज्वरो नापेर मात्रै सम्बन्धित जिल्लामा पठाईने गरिएको छ । नेपाल भारत सिमाका यात्रुको सेवाको लागि सिमा क्षेत्र डोकेबजारमा निःशुल्क “खाना पानी अभियान“ संगै “निशुल्क आकस्मिक फोन सेवा“ लाई निरन्तर सञ्चालन गरिरहेको रोयल कोल्याब्रेटिभ्सले जनाएको छ । अभियान अन्तर्गतको नवौं दिनमा दुई हजार दुई सय जनालाई खाना खुवाईएको छ ।

नवौं दिन दुई हजार खानाका लागि सेती महाकाली टूर्स एण्ड ट्राभल्सका अध्यक्ष ईन्द्र विनाडीले सहयोग उपलब्ध गराएका थिए । निसर्ग अस्पतालको मुख्य सहयोग तथा धनगढी उपमहानगरपालिकाको प्राविधिक सहयोगका रोयल कोल्याब्रेटिभ्सले खाना खुवाउने अभियान जारी राखेको छ । भारतबाट आएका नेपालीहरुलाई खाना र पानी अभियान अन्तर्गत आज दिनभरीमा १ हजार ५ सय जनालाई खाना खुवाईएको छ ।

यस्तै समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अन्तर्गत भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका १ हजार २ सय व्यक्तिलाई खाना र पानी उपलब्ध गराइएको हो । पेनिक हिलिङ धनगढीका तर्फबाट ३ सय जनालाई , बिरेन्द्र गुप्ता तथा बिन्नि गुप्ताका तर्फबाट ४ सय जनालाई, ईण्डोनेशियाबाट ईञ्जिनियर टंक पन्तका तर्फबाट ३ सय जनालाई खाना र पानी वितरण गरिएको थियो । त्यस्तै त्रिनगर बहुमुखी क्याम्पस, नवदुर्गा माध्यामिक विद्यालय, कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ३ सय जनालाई खाना वितरण गरिएको थियो । 

भारतबाट आएका नेपालीहरुलाई १ सय ४० कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । मारवाडी युवा मञ्चका अध्यक्ष गौरव अग्रवालले ९१ कार्टुन मिनरल वाटर उपलब्ध गराएका थिए । अभियानका अगुवा तायलले नेपालीहरु  भारतबाट आउने क्रम जारी रहेसम्म खाना पानी अभियान जारी रहने बताए । भारतबाट आउने नेपालीहरु खाना र पानी खान नपाएर छटपटिएको देखेपछि शुरुवाती दिनदेखि नै यो अभियान अन्तर्गत खाना र पानी वितरण गरिदै आएको छ ।

चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मान सिंह साउँद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको सहभागितामा भारतबाट आएका नेपालीहरुका लागि खाना र पानी अभियान शुरु गरिएको हो । पत्रकार दीर्घराज उपाध्यायले अभियानको संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् । अभियानमा राउण्ड टेबल नेपाल, हाम्रो सानो प्रयास अभियान, काठमाण्डौं, मारवाडी युवा मञ्च, एलायन्स फर पीस लगायतका संघ संस्थाले साथ दिएका छन् ।

यस्तै पछिल्लो समय लकडाउनका कारण भारतका विभिन्न सहरहरूमा अलपत्र परेका नेपालीहरू स्वदेश आउने क्रम जारी रहेका वेला सीमा नाकामा उनीहरुलाई विभिन्न सहयोग हुदै आएको छ । कैलालीको गौरीफन्टा नाका भएर आईरहेका नेपालीहरुलाई त्रिनगर सीमा नाकामा निशुल्क रिचार्ज, फोन र चार्जको सुविधा दिईएको छ । बोलन्या थली र दृष्टि फाउण्डेसनले भारतबाट आएकाहरुलाई यो सुविधा दिएका हुन् । भारतबाट आएकाहरुलाई प्रति व्यक्ती २० रुपैया रिचार्ज गरिएको हो । तीन सय जनालाई रिचार्ज, ६० जनालाई पिसिओ सेवा र एक सय ५० जनालाई चार्जको सुविधा दिईएको बोलन्या थलीका संयोजक  यादव जोशीले बताए  ।