एलपिएलको मुख्य प्रायोजकको रुपमा चण्डिका ग्रुपसँग सम्झौता
2021/01/09, 3:16
 
l;l

फागुन १५ गतेदेखि २४ गतेसम्म धनगढीमा हुने एलपिएलको पाँचौ संस्करणको मुख्य प्रायोजक  टीकापुरको चण्डिका ग्रुप हुने भएको छ । फागुन तेस्रो साता धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणमा चण्डिका ग्रुपसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरिएको हो । योसँगै प्रतियोगिताको पाँचौं संस्करणको नाम चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग भएको छ । 

लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको छ । आयोजकका तर्फबाट ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका ग्रुपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरे । चण्डिका ग्रुप कैलालीको टीकापुरमा रहेको छ । यसले खाद्यान्न, हार्डवेयर तथा आयात निर्यातको व्यवसाय सञ्चालन गर्दै आएको छ । 

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ ।’ उनले भने– ‘यस पटकको लागि हामीसँग चण्डिका ग्रुप जोडिएको छ । कोरोनाको कहरका बीचमा पनि मुख्य प्रायोजक पाउँदा प्रतियोगितालाई सफलतापुर्वक आयोजना गर्न मदत्त मिल्नेछ ।’

लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित संघीय प्रहरी इकाईको खेल मैदानमा जनाईएको छ । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।  देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । विगतमा ४ जनासम्म नेपालभित्रका १९ वर्ष मुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ ।  

विगतका बर्षभन्दा पुरस्कार राशी पनि यो बर्ष घटाईएको छ । चौथो संस्करणको विजेताले दुई लाख र उपविजेताले एक लाखा पाएकोमा यसपाली विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार दिईने छ । ‘कोरोनाको महामारीको बीचमा प्रतियोगितालाई निरतन्तरता दिन सक्नु नै ठुलो हो ।’  अध्यक्ष शाहीले भने–‘यो प्रतियोगिता भनेको क्रिकेटको जग हो । त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौ । जसरी पनि गर्छौ ।’