आन्तरिक पर्यटकले भरिभराउ कञ्चनपुरको म्युजियम
2021/01/10, 6:38
 
musium

कञ्चनपुरको महेन्द्रनगर राजमार्गकै किनारामा दरबार स्टाइलमा निर्माण गरिएको एउटा भवन । जसलाई रातो रङ्गले रङ्गाइएको छ । भवनका तलतिर चुच्चा पारिएका गजुरहरु छन् । भित्तामा सुन्दर र आकर्षक झ्यालहरु राखिएका छन् । ती झ्यालमै बसेर सबैले फोटा नखिचेर त फर्किनै मान्दैनन् । अनि बाहिर बसेको हेलिकोप्टरसंग सेल्फी नलिइ फर्किए त सायद महेन्द्रनगर आएको नि अर्थै नहुने भो । 

यो कुरा हो हालै मात्र निर्माण गरिएको महेन्द्रगरको एउटा पर्यटकीय गन्तव्य, महेन्द्रनगर म्युजियमको । करिब सात करोड लगानीमा पाइलट वेद उप्रेतीद्वारा निर्माण गरिएको महेन्द्रनगर म्युजियममा निर्माण कार्य पूरा हुन नपाउँदै सेल्फी फोटा लिने र टिकटक बनाउने युवायुवतीको भीड दिनप्रतिदिन बढी रहेको छ । अन्य दिनभन्दा शनिबार भीडभाडले टिकट उपलब्ध गराउँनै धौ– धौ हुने गरेको बताउँछिन टिकट काउण्टरमा टिकट वितरण गर्ने कर्मचारी सविता डगौरा ।

ठाउँ निकै सुन्दर बनाइएको छ । गेटमा सुन्दर ढोका निर्माण गरिएका छन । घुम्न आउनेहरु ढोकामा पुगेदेखि नै फोटा र सेल्फी लिन सुरु गरिहाल्छन् । भित्र पसेपछि टिकट काट्ने ठाउँको व्यवस्था गरिएको छ । टिकट काट्ने ठाउँलाई पनि सुन्दर फोटाहरुले सजाइएको छ । टिकट लिएपछि भित्र पस्ने ठाउँमा थारु पहरिनमा सजिएर टिकट चेकजाँच गर्ने मान्छे राखिएका छन् । त्यहाँबाटभित्र पसेपछि मनै लोभ्याउने पोखरी अनि पानीका धाराहरु निर्माण गरिएका छन् जहाँबाट निरन्तर रुपमा हिउँदमा तातो पानी र गर्मीमा चिसोपानी कलकल बग्ने गर्छ । 

अनि पोखरीको छेउमै रहेको हेलिकोप्टर चढ्छन् र फोटो खिचाउँछन । पछिल्लो समयमा महेन्द्रनगरमा रहेको महेन्द्रनगर म्युजियम निकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रुचाइदैछ । भीमदत्त नगरपालिकामा निर्माणाधीन नेपालकै पहिलो अप्स एण्ड डाउन म्युजियम टिकटक, सेल्फी लिनको लागि हाल ट्रष्टले खुल्ला गरेको छ । उक्त म्युजियम नेपालकै पहिलो म्युजियमका रुपमा लिइएको छ ।

क्याप्टेन वेद उप्रेती ट्रष्ट धनगढीका संचालकले निर्माणाधीन महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथ बाबा मध्ये सर्वसाधारणका लागि भित्री म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर खुला गरेका छन । फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीले निकै दबाब दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर खुला गरेको क्याप्टेन उप्रेतीले  बताए ।

विगत सात वर्षदेखि निर्माणाधीन उक्त म्युजियम २०७७ वैैशाख महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य लिइएको भएतापनि लकडाउनका कारण निर्माण कार्य ठप्प हँदा समयमै सञ्चालनमा ल्याउन नसिकिएको क्याप्टेन उप्रेतीको भनाई छ । यस अघिदेखि क्याप्टेन वेद उप्रेती ट्रष्टले धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम सञ्चालन गरिरहेको छ । 

क्याप्टेन उप्रेतीले काठमाण्डौं र धनगढीको म्युजियमभन्दा यो म्युजियम पृथक खालको रहेको बताएका छन् । यस म्युजियमभित्र रहेको अप्स एण्ड डाउन (उल्टा फोटो देखिने ) म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ ।  यस म्युजियम परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथ बाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूरपश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु प्रमुख विशेषताहरुका रुपमा रहेका छन् ।

म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरु रहेका छन् । खासगरी युवायुतीलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने क्याप्टेन उप्रेती बताउँछन् । ‘प्रमुख टुरिज्म सेन्टरका रुपमा म्युजियमलाई विकास गर्छौ’, उनले भने–‘निकट भविष्यमै म्युजियमलाई पछाडिको जमिनमा पनि विस्तार गर्छौ ।’  सिद्धनाथ बाबाको जटाबाट निस्किने पानीको फोहोरा र विभिन्न देवीदेवताका शालिकहरुले पर्यटकहरु आकर्षित हुनुकासाथै म्युजियमले विद्यार्थीलाई प्रेरणा दिइने बताइएको छ । 

म्युजियम निर्माणका लागि क्याप्टेन वेद उप्रेती र उनकी माता सरस्वती उप्रेतीले वेद उप्रेती ट्रष्टका लागि जग्गा दान दिएका छन् । जग्गाको मूल्य करीब तीन करोड रुपैया र म्युजियमको निर्माणमा चार करोड रुपैयासमेत गरी करीब सात करोड रुपैयाको लागतमा म्युजियम निर्माण गरिएको हो । म्युजियम निर्माण गर्न क्याप्टेन वेद उप्रेतीले विदेशमा प्रशिक्षक पाईलटको जागिरबाट आर्जन गरेको चार करोड रुपैया लगानी गरेका हुन । अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र शालिक समेत बनाइएको छ ।

कोरोना भाइरसको संक्रमण कायम रहेसम्म महेन्द्रनगर म्युजियमको भित्रि भाग भने बन्द रहनेछ । तर स्टेच्यु अफ सिद्धनाथ बाबा र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर कोभिड १९ बाट बच्ने उच्च सतर्कता अपनाएर फोटो खिच्न सिद्धनाथ बाबा दर्शनार्थ विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिनेछ ।  ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई म्यूजियम प्रवेश निशुल्क गरिएको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीहरुका लागि रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिने बताइएको छ ।

उक्त संग्राहलय संचालनमा आएसँगै यहाँको पर्यटकीय विकास तथा धार्मिक क्षेत्रहरुको प्रसारप्रचार हुनुका साथै सामाजिक सेवा क्षेत्रमा समेत लगानी गरिने उप्रेतीले बताए ।