भिटिएम अभावमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरीको कोरोना परीक्षण हुनसकेको छैन। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि सबै प्रहरीको पिसीआर परीक्षण गर्ने भनिएको थियो तर स्वाब सङ्कलन गर्नका लागि भिटिएम अभाव हुँदा सबै प्रहरीको पिसीआर परीक्षण हुन नसकेको हो।
कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमितको सम्पर्कमा रहेका ४८ प्रहरीको पिसीआर परीक्षण गरिएको भए पनि थप अरुको हुन नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य २८ जनाको अहिलेसम्म पनि पिसीआर परीक्षण हुन नसकेको उनले बताए। स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको भए पनि भिटिएम अभाव रहेको बताएको उनकोे भनाइ छ।
यसका साथै सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत प्रहरीको पनि कोरोना परीक्षण हुनसकेको छैन। उक्त नाकाबाट उद्धारकार्य जारी रहेका बेला उनीहरुको पनि कोरोना परीक्षण गर्न अनिवार्य रहेको पाण्डेयको भनाइ छ। यसअघि परीक्षण गरिएका ४८ प्रहरीसहित ९९ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।