सुदूरपश्चिमकी चेली जलपरी गौरिकाले बढाएको गौरव
2021/01/11, 7:28
 
gaurika singh

‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु ।’ सुदूरपश्चिमकी चेली गौरिका सिंहले भावविह्वल भएर यस्तै यस्तै भनेकी थिइन, एक वर्ष अगाडि काठमाडौंमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहेका बेला । यस्तो किन पो भन्नु परेको थियो होला त ? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ । विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याइँ ?  

कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र ? बरु उनले पाएको उपलब्धिमा खुसी भएर मन ठूलो पार्दा राम्रो। धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छन्। लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले । २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३ औं साग नै हो ।

सागको सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो। उनले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन् । अनि सबैको मन पनि । त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे। अनि त्यसैकै उत्तरमा त हो, गौरिकाले भनेकी, ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु ।’

अब कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ । त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि मनोनयन भएको छ । उनी यसका लागि हकदार त छिन् नै, अवार्ड जित्नका लागि बलिया प्रत्यासी पनि छिन् ।

हुन पनि पछिल्लो समय नेपाली खेलकुदबाट धेरैले चिनेको अनुहारमा पर्छिन्, गौरिका । यसको पृष्ठभूमि तयार हुन सुरु भएको भने चार वर्ष अगाडिदेखि नै हो । हुन त त्यसको पनि अगाडि फुच्ची गौरिकाले नेपाली घरेलु पौडीमा तहल्का मच्चाइसकेकी थिइन् । तर उनको सबैभन्दा पहिले बलियो उल्लेखनीय प्रदर्शन सन् २०१६ मा भएको थियो, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा ।

गोवाहटीमा उनले नेपालका लागि एक रजत र तीन कांस्य जितिन् । उनले जितेको त्यो रजत नेपाली पौडीमा पहिलो ठूलो उपलब्धि रह्यो । त्यसपछि त्यही वर्ष ब्राजिलको रियो दी जेनेरियोमा उनले तहल्का नै मच्चाइन् । विश्व खेलकुदको महाकुम्भमा गौरिका नै सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन् । उनको चर्चा चारैतर्फ रह्यो । यत्तिको विश्वव्यापी चर्चा यसअघि अरू कोही नेपाली खेलाडीले कहिले पनि हासिल गरेकै थिएन् । 

पछिल्लो दक्षिण एसियाली खेलकुदमा त उनले झन् गज्जब गरिन्, चार स्वर्णको उपलब्धिसँगै । अब त गौरिकाबारे मज्जाले भन्न सकिन्छ, उनी फगत चर्चामा मात्र रहिनन्, उनले आफूलाई सिद्ध पनि गरेकी छिन् ।