माघीको तयारीमा जुटे थारु समुदाय
2021/01/11, 11:03
 
t

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको छ ।

विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका शहरबजार जान थालेका छन् । रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन् ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको छ ।