सुदूरपश्चिममा नेकपाका नेताहरुलाई कारवाही श्रृंखला, प्रदेशदेखि पालिकासम्म ! को–कहाँ बलियो ?
2021/01/13, 10:14
 
nekapa

पुस १७ गते नेकपा दाहाल(नेपाल समूहले नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाहीको लागि सिफारिस गरेको थियो । दाहाल– नेपाल समूहले आयोजना गरेको प्रदेश कमिटीको चौथो बैठकले दुवै जनालाई कारबाही गर्न सिफारिस गरेको हो । सो बैठकमा साबिकका इन्चार्ज भीम रावल सहभागी थिए । तर, अध्यक्ष कर्ण थापा भने उपस्थित थिएनन् । अध्यक्ष विनाको बैठक वैधानिक नभएको भन्दै पुस १७ गते गरिएका सम्पूर्ण निर्णयहरू खारेज गरिएको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

२२ गते धनगढीमा ओली पक्षले पनि प्रदेश कमिटीको चौथो बैठक आह्वान ग¥यो । सो बैठकबाट ओली समूहले भीम रावल लगायत ३ नेतालाई कारबाहीको सिफारिस भयो । ईन्चार्ज रावलसँगै प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो । रावलमाथि खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप पनि लगाइएको छ । जसको रावलले खण्डन गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ । प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन् । थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको थियो ।

कारबाही श्रृंखला बढ्दै
पुस १४ गते सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठन सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । ओली समूहमा रहेकै कारण मन्त्री बोहरालाई विना जानकारी मुख्यमन्त्रीले बर्खास्त गरेका थिए । यो घटनापछि सुदूरपश्चिम प्रदेशमा एकले अर्कालाई कारबाहीको श्रृंखला सुरु भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा भौतिक मन्त्री पठान सिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा मात्रै ओली समूहमा थिए । मुख्यमन्त्री भट्टले भौतिक मन्त्री बोहरालाई बर्खास्त गरेपछि अर्थ मन्त्री बोहरालाई भने हटाउने आँट गर्न सकेनन् । पछि पुस २२ गते काम गर्ने वातावरण नभएको भन्दै अर्थमन्त्री बोहराले पनि राजीनामा दिए । औपचारिक रूपले पार्टी फुट्नुभन्दा अघि नै सरकारभित्र कारबाही प्रक्रिया सुरु भइसकेको थियो । यो श्रृंखला सरकार हुँदै पार्टीमा छिर्यो । अहिले पार्टीभित्र एक पक्षले अर्काे पक्षलाई धमाधम कारबाही गरिरहेका छन् ।

सोमबार ओली पक्षले कञ्चनपुरका पार्टी सचिव तारा लामा तामाङलाई कारबाही गर्यो । सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका तामाङलाई जिल्ला पार्टी सचिवको जिम्मेवारीबाट हटाएको ओली समूहले जनाएको छ ।  सोमबार नै अछाममा अध्यक्ष शेरबहादुर कुँवर र सचिव झपट साउदलाई पनि जिम्मेवारीबाट हटाईएको छ । उनीहरू दुवै जना दाहाल– नेपाल समूहका हुन् । अहिले कसैलाई कारबाही नगरेको र जिम्मेवारीबाट मात्रै हटाइएको नेकपा ओली समूहका अध्यक्ष थापाले जानकारी दिए । ‘हामीले पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरेका होइनौँ ।’ उनले भने– ‘उहाँहरूको जिम्मेवारी मात्रै खोसिएको हो ।’

ओली पक्षले जिल्लामा धमाधम कारबाही गरिरहेका बेला प्रचण्ड–दाहाल पक्ष कारबाहीमा परिसकेका व्यक्तीको अध्यक्षतामा बसेको बैठकले गरेको कारबाही वैधानिक नहुने बताउँछ । ‘हामीले प्रदेश अध्यक्ष कर्ण थापालाई पुस १७ गते नै कारबाही गरिसकेका थियौँ ।’ दाहाल– नेपाल समूहका प्रदेश सचिव नेपबहादुर चौधरीले भने– ‘उहाँ कारबाहीमा परिसकेपछि हामीलाई कारबाही गर्नुभएको रहेछ त्यो वैधानिक होईन ।’

प्रदेशबाट जिल्ला हुँदै कारबाहीको श्रृंखला अहिले पालिकास्तरमा समेत पुगिसकेको छ । पुस २६ गते कैलालीको घोडाघोडी नगरपालिकामा दाहाल– नेपाल समूहले अध्यक्ष बाधुराम चौधरीलाई कारबाही गरेको छ । घोडाघोडी नगर सचिव खगेन्द्र हमालले जारी गरेको विज्ञप्तीमा चौधरीलाई केपी ओलीको कदमको समर्थन गरेर विज्ञप्ती जारी गरेपछि अध्यक्ष पदबाट निष्कासन गरिएको उल्लेख छ ।

प्रदेश पदाधिकारीमा कुन पक्ष को के छ अवस्था ?
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका पदाधिकारीमा ओली पक्षका भन्दा दाहाल–नेपाल पक्षका पदाधिकारी बढी छन् । ९ जिल्लामध्ये हालसम्म ओली पक्षका ४ जिल्लामा अध्यक्ष र २ जिल्लामा सचिव रहेका छन् । दाहाल–नेपाल समूहका भने ५ जिल्लामा अध्यक्ष र ७ जिल्लामा सचिव रहेका छन् ।  अहिले ओली समूहले दाहाल–नेपाल समूहमा रहेका जिल्लाका पदाधिकारीहरुलाई हटाएर आफू पक्षका व्यक्तिहरुलाई जिम्मेवारी दिइरहेको छ ।

कुन जिल्ला कसको पक्षमा ?
कैलाली
अध्यक्ष– रतन थापा, ओली पक्ष
सचिव– लाल बहादुर सोडारी, दाहाल–नेपाल समूह

कञ्चनपुर
अध्यक्ष– वीरबहादुर थापा, ओली समूह
सचिव– तारा लामा तामाङ, दाहाल–नेपाल समूह

डोटी
अध्यक्ष– चक्र मल्ल, दाहाल–नेपाल समूह
सचिव– जङ्ग विक, दाहाल–नेपाल समूह

बझाङ
अध्यक्ष– मीनबहादुर कुँवर, दाहाल–नेपाल समूह
सचिव– दमन भण्डारी, दाहाल–नेपाल समूह

डडेल्धुरा
अध्यक्ष– मानसिंह माल, दाहाल–नेपाल समूह
सचिव– वीरेन्द्र कुमार बस्नेत, दाहाल–नेपाल समूह

दार्चुला
अध्यक्ष– गणेश सिंह खत्री, दाहाल–नेपाल समूह
सचिव– उदय बडाल, ओली समूह

बैतडी
अध्यक्ष– सुरेन्द्र पाल, ओली समूह
सचिव– प्रेम प्रकाश भट्ट, दाहाल–नेपाल समूह

अछाम
अध्यक्ष– शेरबहादुर कुँवर, दाहाल–नेपाल समूह
सचिव– झपट साउद, दाहाल–नेपाल समूह

बाजुरा
अध्यक्ष– कालीबहादुर शाही, ओली समूह
सचिव– भरत बुढा, ओली समूह ।