संसद् विघटनको विरोध गर्दै काँग्रेसद्वारा सुदूरपश्चिमका स्थानीय तहहरुमा विरोध प्रदर्शन
2021/01/16, 8:53
 
birodh

प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेसले सुदूरपश्चिमका स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका सहित ८८ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको नेपाली काँग्रेसले जनाएको छ । 

2

पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय अनुसार सबै ठाउँमा प्रदर्शन गरिएको हो । प्रदर्शनपछि आयोजित विरोध सभाहरुलाई काँग्रेसका स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

यस्तै देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत धनगढी सहित कैलालीका १३ वटै स्थानीय तहमा पनि प्रदर्शन सहित कोण सभाको आयोजना गरिएको छ । धनगढीमा पनि शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले विरोध सभाको आयोजना गरेको छ । सभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकार र प्रदेश सभामा संस्थापक र माननीय स्वयम हुँदा संस्थापक र अन्तिम हामी नै हुने खतरा भएको बताएका छन् ।

1

संघीयतामा प्रदेश सरकार र प्रदेश सभा अनुपयुक्त रहेको उनले बताए । नेकपाको सरकारले गरेका झुटका एजेन्डा र भ्रष्टाचारका फाईललाई केन्द्रदेखि वडा स्तरसम्म उदाङ्गो पार्ने उनले बताए । उनले भने– ‘नेपाली कांग्रेस एकजुट भएर नेपाली जनताको जित र संविधानको रक्षाका लागि सडकमा आएको हो । हामी हतियार उठाउदैनौ,  हाम्रो हतियार भनेको विधि र विधान हो । वर्तमान नेकपाको सरकार कान्डै कान्डको सरकार हो, संविधान निर्माणका खातीर ज्यानको बलिदानी दिने सहिदका सपना माथि कुल्चेर घृणित राजनिति यो सरकारले गरेको छ ।’

3

रावलले सुदुरपश्चिम प्रदेश सरकारका सन्दर्भमा प्रदेश सरकार स्वार्थमा चुर्लुम्म डुबेको र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पद जोगाउनकै लागि उद्दत भएको बताए । नेपाली कागं्रेस कैलालीका उपसभापति प्रकाश बमले निर्मला पन्तका हत्यारा गृहमन्त्रीका छोरा भएको आरोप लगाएका छन् । नेकपाको सरकार भ्रष्टाचारको बिरुवा भएको भन्दै बिकल्पका खातिर कागं्रेस सडकमा आएको उनको भनाइ थियो ।
यस्तै सभामा बोल्दै धनगढी उपमहानगरपालिका मेयर तथा कागं्रेस नेता नृपबहादुर वडले नेकपाको सरकारले अपराधीलाई बचावट गरेको र अपराधी, भ्रष्टाचारीलाई दण्ड दिनुको साटो सम्मान दिने प्रवृत्तिले देश संकटतर्फ गएको बताए । संसद बिघटन संविधान विपरित रहेको र यसको पुनस्र्थापनाको बिकल्प नरहेको भन्दै नेताहरुले सर्वोच्च अदालतको फैसलालाइ पर्खिदै उचित कदम थाल्ने जस्ता मत राखेका थिए ।

3

कैलालीको गौरीगंगामा आयोजना गरिएको कार्यक्रममा नेपाली कागं्रेसका केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक कार्य गरेको आरोप लगाएका छन । आफ्नै पार्टीभित्रको अन्तरविरोध सहन नसकेर बहुमतको कम्युनिष्ट सरकारले राजाले २०१७ मा गरेको कुभन्दा ठूलो गैरसंवैधानिक कार्य गरेको आरोप लगाए । नेपाली कागं्रेसले मसुरियामा शनिबार आयोजना गरेको विरोध ¥यालीपछि भएको विरोध सभामा उनले यस्तो बताएका हुन । प्रधानमन्त्री पाखण्डी र घमण्डी रहेको जिकिर गर्दै उनले प्रतिनिधि सभा विघटन गरेर ओलीले राष्ट्रको अस्मिता नै खतरामा पारेको बताए ।

4

जनताभन्दा ठूलो अर्को अदालत नरहेको भन्दै भण्डारीले जनतालाई आन्दोलनका लागि तयार रहन आह्वान गरे । उनले राज्यको सम्पूर्ण निकायमा ओलीकरण गर्दै वर्तमान प्रधानमन्त्री जंगबहादुर बन्ने क्रममा रहेको आरोप लगाए । कार्यक्रममा कागं्रेस नेतृ मेनका जोशी, नेताहरु यज्ञनिधि कोईराला, यज्ञराज चौधरी, दिनेशराज जोशी लगायतले बोलेका थिए । 

यस्तै नेपाली कांग्रेस गोदावरी नगर समितिले प्रतिनिधि सभा विघटन विरूद्ध आज अत्तरिया चौराहामा विरोध प्रदर्शन गरेको छ । कोण सभालाई साम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठकले कम्युनिष्ट सरकारले एकतन्त्रीय शासन स्थापना गर्नको लागि संसद विघटन गरेको बताए । ‘एकतन्त्रिय शासन लगाउनका लागि केपी ओलीले मैले लगाउन पाउनु पर्छ भन्ने प्रचण्ड–माधवले मेरो पालामा मैले लगाउन पाउनु पर्छ भनेर विवाद आउँदा अहिलेको समस्या आएको हो’ उनले भने ‘यो सबै एकतन्त्रीय शासन प्रणाली ल्याउनको लागि गरिएको प्रयास हो ।’

3

नेपाली कागं्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा कंचनपुरका नौ वटै स्थानिय तहमा एक साथ विरोध प्रदर्शन गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि शनिवार गर्जमनी वजारदेखि कलुवापुर वजार हुँदै झलारी वजारसम्म विरोध ¥याली प्रदर्शन सहित झलारी वजारमा विरोध सभाको आयोजना गरेको थियो । शुक्लाफाँँटा नेपाली कांग्रेस नगर सभापति जयवहादुर विष्टको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख महाँसमिति सदस्य लालबहादुर सिंह रहेका थिए । 

विरोध सभालाई सम्वोधन गर्दै सिंहले नेपाली जनताले ठुलो सपना देखेर कम्युनिस्टलाई दुई तिहाईको मत दिए पनि उनीहरु सरकार संचालनमा असफल भएको दाव गरे । शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐरले नेपाली जनताको वलिदानीबाट प्राप्त संविधानको रक्षाका लागि काग्रेंस आन्दोलनमा छ । कांग्रेस विधिको शासन पद्धतिमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएकाले अदालतको आदेशको समेत सम्मान गरि जनतामा जाने ऐरले जनाए । काग्रेंसले देशका सात सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको छ ।