यौद्धा वीर दुबै लडे गजबले कुर्सी निशाना थियो ।
हेर्थे दर्शकले बसेर चुप भै युद्धै तमासा भयो ।।
हाँस्दा गिद्गिद लोकले समरमा आनन्दका साथमा ।
लाग्थ्यो है उपमा दुबै तरफका नेता लडे राष्ट्रमा ।।१।।
हाँस्छन् दर्शक हुन् सबै तरफका नेताहरू युद्धका ।
आफ्नैमा जन युद्ध भो पतनको संकेत हुन् राष्ट्रका ।।
लड्दैछन् पद लालची पतनको पाटो कुपाटो भुली ।
आफ्नै केबल स्वार्थमा निहित छन् सम्पूर्ण जन्ता भुली ।।२।।
यौद्धा हुन् नभनौं लडे घरघरै मिच्दैछ सीमा अरू ।
लड्छन् आपसमा दुबै फिजुलमा नेता भनौंदाहरू ।।
तिम्रो त्यो गणतन्त्र खै पतनभो देख्दैन ऐल्ये मता ।
देख्छू केवल युद्धमा निहित छौ खाडी पुग्यो शक्तिता ।।३।।
यौद्धा वीर बिके पुगे अरबमा दासत्व भो जीवन ।
गर्छौ शासन हिनता मुलुकमा जन्ता लडायौ किन ।।
झूटा भाषणमा फसेर जनता जो युद्धमा होमिए ।
तिम्रा स्वार्थ निमित्त मृत्युु मुखमा पर्नू पर्यो मारिए ।।४।।
खुट्टा हात कटी अपांग बन्दै पीडित् बनेका जन ।
केभन्ला तिनको दुखी हृदयले चिन्ता लियौ कि ? भन ।।
कुर्सी मात्र रहेछ लक्ष्य बुझियो खै राष्ट्रका सेवक ।
खोक्रा भाषण बक्दछौ हरघडी क्वै छैन उद्धारक ।।५।।
तीतो सत्य तथा यथार्थ पनि हो हे ! क्रान्तिका अग्रज ।
देख्यौँ बालक युद्ध सत्य घटना शिक्षा छ तिम्रो बुझ ।।
लड्दै छन् शिशुकालमै घरघरै नारा लियी स्वार्थमा ।
गर्छौ भाषण राष्ट्र भक्त बन्दै लड्छौ दुवै व्यर्थमा ।।६।।
रामचन्द्र जोशी
धनगढी– १ त्रिवेणी चोक