बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा अघिल्लो वर्ष पहिरोले ६ घर विस्थापित भए। गाउँमाथिबाट आएको पहिरोले अन्य २५ घर जोखिममा परे। डोजरले खनेको सडकले पहिरो खस्दा गाउँ नै जोखिममा पर्यो। ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो।
‘सडक आउनुभन्दा पहिले पहिरोको कुनै संभावना थिएन,’ स्थानीय प्रेमबहादुर बोहराले भने, ‘डोजरले खनेपछि सडकमाथिबाट ठूलो पहिरो खसेको छ।’ भिरालो जमिन भएकाले स्थानीयले अन्यत्रबाट सडक लैजान आग्रह गरे पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा विस्थापित हुनु परेको स्थानीय अम्मरसिंह बोहराले बताए। दोगडाकेदार गाउँपालिकाको–१ रिममा खनिएको सडकले पनि स्थानीय बासिन्दाका घर जोखिममा परेका छन्। खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन्।
गाउँगाउँ सडक पुर्याउने भन्दै जिल्लामा ३र४ वर्ष यता सडक खन्ने प्रतिस्पर्धा नै चलेको छ। स्काभेटर, डोजरले खनिएका सडककै कारण पहिरोको जोखिम बढ्दै गएको छ। हरेक ग्रामीण सडकमा मेसिनको प्रयोग भइरहेको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए। छिटो सडक खन्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले जोखिम निम्तिाएको हो। एउटै गाउँ पुग्न तीनचार सडक खनिएको उनी बताउँछन्। बिना स्टमेट जथाभावी डोजरले खनिएका सडककै कारण बर्खामा समस्या बढेको हो। विगतमा काटिएका सडक बर्खासँगै खोल्सामा परिणत भएका स्थानीय बताउँछन्। सडक काट्ने प्रतिस्पर्धा चलेपछि सबै स्थानीय तहले डाँडाकाँडा चिराचिरा पारेका छन्।
गोकुलेश्वर–डिलासैनी सडकले पनि थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँ लगायतका ठाउँमा पहिरोको जोखिम बढेको छ। ६ वर्ष अघिबाट सडक काट्न सुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको स्थानीय हरिदत्त जोशीले बताए। जथाभावी खनिएका कच्ची सडकले खेतियोग्य जमिन र बस्तीमा प्रभाव पर्न थालेको पाटन नगरपालिका–६ का हरिश बिष्टले बताए। ‘विकासका नाममा विनास भएको छ,’ उनले भने।
वातावरणीय प्रभावको विश्लेषण नगरी डोजर लगाएर सडक खन्ने काम तीव्र रूपमा भइरहेका कारण पहिरोको खतरा बढेको हो। कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढदै गएको रेडक्रस बैतडीमा विपद्को क्षेत्रमा काम गर्दे आएका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए। पहिरोकै कारण बर्सेनि मानवीय क्षति गर्नुका साथै खेतीयोग्य जमिनसमेत बगाउने गरेको छ।
जिल्लाका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर गाउँगाउँमा सडक खनेका छन्। तर ती सडक मापदण्ड बिना खनिएकाले वर्षातको समयमा खोल्सामा परिणत हुन्छन्। प्रत्येक वर्ष सडक खनिन्छन्। वर्षातको भेलले सडकलाई खोल्सा बनाउँछ अनि हिउँद सुरु हुने वित्तिकै तीनै सडक मर्मतको नाममा पैसा खर्च हुने गरेको पञ्चेश्वर गाउँपालिका–२ मोहनबहादुर चन्दले बताए।
जथाभावी खनिएका कच्ची सडकले खेतीयोग्य जमिन र बस्तीमा प्रभाव पर्न थालेको पुर्चौंडीका स्थानीय शिवलाल साउँदले बताए। कच्ची सडकमा खसेको पहिरोका कारण सुर्नया गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयमा क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम लोहारले बताए। यस्तै दशरथचन्द नगरपालिका–३ को हल्लेक माविको विद्यालय भवनसमेत सडककै कारण पहिरोको जोखिममा छ। विद्यालयको दुवैतिर दुर्गाभवानी जाने सडक काटिएकाले विद्यालय जोखिममा भएको स्थानीय मोहन क्षेत्रीले बताए।
सडककै कारण खानेपानीका मुहानसमेत सुक्न थालेका छन्। सुर्नया गाउँपालिका–४ मा सडकले खानेपानीको मुहान भत्काएपछि करिब ३० घर खानेपानीबाट वञ्चित भएका छन्। यस्तै दशरथचन्द नगरपालिका–११ को बठ्ठामा वर्षौ पुरानो पानीको मुहान सुकेको स्थानीय देवबहादुर चन्दले बताए। सिँचाइ कुलो भत्किएपछि करिब ४० रोपनी खेतमा असर परेको उनले बताए। सामान्य वातावरणीय परीक्षण समेत नगरेर खनिएका सडकका कारण खानेपानीका मुहान सुक्ने र सर्ने समस्या देखिन थालिसकेको र आउँदा दिनमा खानेपानीको चरम संकट हुने सम्भावना भएको खानेपानी तथा सरसफाई डिभिजन बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए।
जथाभावी सडक विस्तार कार्यले जलाधार क्षेत्रको प्राकृतिक प्रवाहमा फेरबदल भएका कारण बाढीपहिरो जस्ता मानव निर्मित प्रकोपको बढोत्तरी भएका कार्यालय प्रमसख बोगटीको भनाइ छ। सडक निर्माणकै क्रममा वन क्षेत्रको व्यापक विनाश हुँदा जैविक विविधता माथिका चुनौती थपिने क्रममा रहेको र चरन क्षेत्रको विनाश भएका कारण पशुपालनमा आश्रित ठूलो जनसंख्याको जीविका संकटमा पर्न थालेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए।
जता वन उतै सडक
जिल्लाका अधिकांश ग्रामीण सडक वन क्षेत्र भएर काटिएका छन्। खेतीयोग्य जमिन भएको ठाउँमा स्थानीयले अवरोध गरेपछि वन क्षेत्रमा डोजर चलाइएको छ। ‘धेरै ठाउँमा वन क्षेत्रमा सडक काटिएको छ,’ डिभिजन वन अधिकृत केशव पराजुलीले भने, ‘हामीले वन क्षेत्रमा सडक नकाट्न सम्बन्धित पक्षलाई धेरै पटक आग्रह गरेका छौं तर वन विनास हुन थालेपछि धेरै ठाउँमा सडक रोकेका पनि छौं।’ डिभिजन वन कार्यालयले मद्दा परेपछि जिल्लाका दर्जन बढी सडक खन्न रोकेको बताइएको छ।
स्थानीय तहका आफ्नै डोजर
बैतडीका अधिकांश स्थानीय तहले आफै डोजर खरिद गरेका छन्। सडक काट्नको लागि उनीहरुले आफै मेसिन खरिद गरेका हुन्। जिल्लाका १० स्थानीय तहमध्ये ९ वटासँग आफ्नै मेसिन छ। एउटा स्काभेटर खरिद गर्न करिब १ करोड देखि १ करोड ३० लाख रुपैयाँसम्म स्थानीय तहले खर्च गरेका छन्।
सडक, बाटोघाटो विकास निर्माणका काममा स्थानीय नागरिकलाई लगाउनुको सट्टा मेसिनले सडक काट्न थालेपछि रोजीरोटी खोसिएको स्थानीय बताउँछन्। गाउँघरमा रोजगारी नपाएर हजारौ युवा विदेश गइरहेको छन्। मेसिन खरिद गर्नुभन्दा बेरोजगारलाई गाउँमै रोजगारी दिने वातावरण स्थानीय तहले नबनाउँदा बेरोजगारी समस्या बढ्दै गएका नागरिक समाज बैतडीका सचिव करन दयालले बताए। यो समाचार बैतडीबाट बिरा गडाल नागरीक दैनिकमा लेखेका छन ।