सुदूरपश्चिम प्रदेशमा घट्दै सक्रिय संक्रमित
2021/01/19, 7:12
 
corona

कोरोनाको उच्च जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सक्रिय सङ्क्रमितको संख्यामा कमी आएको छ ।  नयाँ संक्रमण दर र परीक्षण घटेसंगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो । सामाजिक विकास मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार यो प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५१२ रहेको छ ।

गत पुसमा सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सयको हाराहारीमा रहेको थियो ।  पछिल्लो समय नयाँ संक्रमण दर घटेको र यसअघिको संक्रमित निको भएकाले संक्रिय संक्रमितको संख्या घट्दै गएको हो । अब अछाममा ७०, बैतडीमा ८०, बझाङमा २२०, बाजुरामा ५९, डडेल्धुरामा ११७, दार्चुलामा ६३, डोटीमा १७१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, कैलालीमा ५५८, कञ्चनपुरमा १२७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो प्रदेशमा परीक्षण भइ यतै रहेका अन्य जिल्लाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।  सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३४ हजार ५३१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ । जसमध्ये १३ हजार ८९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये १२ हजार ३२९ जना निको भइसकेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।