देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु: प्रचण्ड
2021/01/20, 9:44
 
क

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

आफूले प्रधानमन्त्री पदमा दाबी नगरेकोसमेत प्रचण्डले बताए । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ अहिले, तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभाछ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु ।’

उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए ।