डढुवा रोगका कारण तरकारी खेती जोगाउनै मुस्किल
2021/01/22, 6:23
 
tarkari

कञ्चनपुरमा डढुवा रोगका कारण तरकारी खेती जोगाउनै मुस्किल परेको छ ।  जिल्लाको अधिकांश ठाउँमा लगाएको तरकारी खेतीमा डढुवा रोगले संक्रमण गरेपछि तरकारी खेती गरिरहरेका किसान लगानी डुब्ने चिन्तामा रहेका छन् । जाडो याममा तराईमा देखिने शितलतहरको समस्याले विगतमा जस्तै यस वर्षपनि किसानले लगाएको तरकारी खेतीमा डढुवा रोग देखा परेको छ । 

हुस्सु र कुहिरोका कारण तरकारी खेतीमा भने प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । लामो समयसम्म देखा पर्ने शितलहरले किसानले लगाएको तरकारीमा डढुवा रोगले ठूलो समस्या गर्ने किसानको भनाई छ ।  हुस्सु कुहिरोका कारण तरकारी खेतीमा देखिने डढुवा रोगले तरकारी खेती नष्ट गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित नयाँ कटानका किसान नाथुराम रानाले बताए ।

उनले भने–‘डढुवा रोगको प्रकोपबाट तरकारी खेती जोगाउन रसायनिक औषधि छर्किएपनि समस्या सामाधान भएन । वर्षैनी लगाएको तरकारी खेतीमा डढुवा रोगको संक्रमणले धेरै समस्या गर्ने गरेको छ ।’ डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या किसानको वर्षेनीको समस्या हो । व्यवसायीक रुपमा तरकारी खेतीमा उदाउन लागेका किसानलाई पनि डढुवा रोगको संक्रमणले नोक्सान गर्ने गरेको किसान नाथुराम रानाले बताए । 

आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई भने मुश्किल पर्ने गरेको हुन्छ । तरकारी खेतीमा रोग लाग्ने सम्भावना देखिएमा तरकारीको बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने भएपनि त्यसले पनि त्यति प्रभावकारी रुपमा काम नगरेको किसानको भनाइ छ । डढुवा रोगको समस्या बढ्दै जाँदा कञ्चनपुरको तरकारी खेतीमा वर्षेनी ह«ास आउने गरेको छ । 

चिसोको महिना विशेष गरेर पुस र माघको महिनामा तरकारी खेतीमा डढुवा रोगको संक्रमण हुने गर्दछ । संक्रमण हुन नदिन खेतीलाई अगाडि पछाडि सार्याे भने रोगको समस्या किसानले खेप्नु नपर्ने र अर्काेतिर रसायनिक औषधिको प्रयोग पनि नहुने रानाको भनाई छ । पछिल्लो अवस्थामा अधिकासं किसानले तरकारीको समय परिवर्तन गरेर तरकारी खेती पनि सुरु गरेका छन् । किसान रानाका अनुसार नयाँ कटान क्षेत्रमा तरकारी लगाउने अधिकांश किसानहरुले अन्तिम मंसिर सम्ममा नयाँ तरकारी फलाइ सक्ने गर्ने गरेका छन् । वातावरण सँग जुधेर खेती गरेपछि तरकारी खेतीमा नोकसान धेरै कम हुने गरेको रानाले पश्चिम टुडेलाई बताए ।

डढुवा रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसको मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । यसैगरी तरकारी खेतीमा डढुवा रोग लागेपछि भने रोग लागेको केही दिनमै तरकारीलाई कुहाउने गर्ने गरेको अर्का किसान बल बहादुर राना बताउँछन् । 

‘डढुवा रोगले केही दिनमै खेतको सबै तरकारीलाई सडाउने गर्दछ’, नयाँ कटानकै रानाले भने–‘रोग लाग्नुभन्दा अगावै औषधि छर्किसक्नु पर्छ, औषधिलाई निरन्तरता दिन सक्यो भने रोकिन्छ नत्र बढी भयो भने त रसायनिक औषधिले पनि काम गर्दैन ।’ योसँगै डढुवा रोगले तोरी खेतीमा पनि नोक्सान गरेको छ । तरकारी खेती भन्दा तोरी खेतीमा यसको प्रभाव बढी हुने गरेको किसान रानाले बताए । वर्षेनी हुने डढुवा रोगकै संक्रमणका कारणले केही किसानले तोरी खेती गर्न पनि छोडेको बताइएको छ ।

No description available.

‘विगतमा यो समय भनेको तोरी फुल्ने र खेतभरी पहेँलो हुने समय थियो, केही वर्षयता डढुवा रोगका कारण पहेँलो हुने खेतमा हरियो हुने गरेको छ’, रानाले भने–‘केही वर्षयता वर्षैपिच्छे डढुवा रोगको संक्रमण खेतीमा हुन थालेपछि तोरी खेती हुने खेतको क्षेत्रफल पनि निकै कम भएको छ, तोरी खेती गरिने खेतमा अहिले अन्नबाली गरिन्छ ।’

डढुवा रोगको दीर्घकालीन उपचार नभएपछि जिल्लामै पछिल्लो समय तोरी खेती किसानको सङ्ख्या पनि घटेको छ । तोरी खेती भन्दा अन्नखेतीमा डढुवा रोगको प्रकोप नहुने र मुनाफा पनि तोरीको तुलनामा बढी हुने भएपछि तोरी हुने खेतीमा अन्न खेती भएर पहेलो हुने खेत हरियो हुने गरेको रानाले बताए ।