दुई हजार बढी गरिब महिला तथा बालबालिकालाई पौष्टिक खाना वितरण
2021/01/23, 10:33
 
ahar

शनिबार कञ्चनपुरमा दुई हजार बढी गरिब परिवारका महिला तथा बालबालिका लाई पौष्टिक खाना वितरण गरिएको छ।  माइती नेपाल कञ्चनपुरले सञ्चालन गरेको महिलाका लागि सामुदायिक भान्छा तथा पौष्टिक खाना वितरणको चारमहिने समापन कार्यक्रम अन्तर्गत जिल्लाका गरिब तथा विपन्न २ हजार ८ सय ५० जना परिवारलाई पौष्टिक खाना वितरण गरिएको हो ।

जिल्लाका स्थानिय तहसँगको सहकार्य तथा युएन वमेन सस्थाको सहयोगमा माइती नेपालले कार्तिक देखी सञ्चालन गरेको पौष्टिक खाना वितरण अभियान शनिवार सम्पन्न समेत गरिएको छ । जस अन्तर्गत माइती नेपालले भीमदत्त नगरपालिका क्षेत्रमा १ हजार ५ सय ९६ जना, दोधरा चाँदनी नगरपालिका क्षेत्रमा ६ सय ६७ जना र ढक्का शिविर क्षेत्रमा ५ सय ८७ जना गरिब तथा विपन्न परिवारका सदस्यलाई खाना खुवाइएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन् ।

कोरोना महामारीको प्रभावलाई केन्द्रित गरेर माइती नेपालले सुरु गरेको पौष्टिक खाना वितरण कार्यक्रम यस अघि पनि गरिएको थियो । “यस अघि पनि पहिलो चरणमा पौष्टिक खाना वितरण गर्ने कार्यक्रम गरिएको थियो, जसमध्ये झण्डै १४ हजार गरिब, विपन्न, सीमाङ्क्रीत लगायत एकल महिलाहरुले प्रत्यक्ष लाभ लिएको अवस्था थियो ।”

माइती नेपालकी संयोजक महेश्वरी भट्टले भनिन्, “कोरोना महामारी पछि गरिब तथा विपन्न परिवार रोगले नभई भोगले मर्ने अवस्था सँगसँगै प्रभाव पनि बढ्दै गयो, फलस्वरुप हामीले दोस्रो चरणमा पनि झण्डै दुई हजार बढी विपन्न तथा गरिब नागरिकलाई पौष्टिक खाना वितरण गरेका छौ ।” माइती नेपालले विशेष गरेर बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको छ । कोरोना महामारीमा अन्य क्षेत्र भन्दा पनि बालबालिका तथा महिलाहरुको क्षेत्रमा भोकको बढी प्रभाव परेकोले माइती नेपालले पौष्टिक खाना वितरण गर्ने कार्यक्रम ल्याएको उनले बताइन् । पौष्टिक खाना कार्यक्रममा भात दाल, तरकारी, फलफूल, खानेपानी लगायत वितरण गरिएको थियो ।