कैलालीमा थपिएका तीन संक्रमितको तीन स्वास्थ्य संस्थामा उपचार हुँदै, धनगढी र टीकापुरमा ७/७ जना आईसोलेसनमा
2020/06/01, 7:55
 
korona

कैलालीमा आईतबार थपिएका तीन जना कोरोना संक्रमितको जिल्लाका तीन स्थानका स्वास्थ्य संस्थामा उनीहरुको उपचार भईरहेको छ । धनगढी, टीकापुर र भजनीमा रहेका स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । संक्रमित तीनै जनालाई सम्बन्धित ठाउँका अस्पतालमा राखेर उपचार भईरहेको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का संक्रमित पुरुषको सेती प्रादेशिक अस्पताल, भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय संक्रमित पुरुषको भजनी प्राथमिक स्वास्थ्य केन्द्र र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा टीकापुर अस्पतालमा उपचार भईरहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

पछिल्लो पटक थपिएको समेत गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत कोराना संक्रमितको संख्या ७ पुगेको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको आईसोलेसनमा ७ जनाको उपचारमा रहेको जानकारी दिए । यस्तै टीकापुर अस्पतालमा पनि जानकी गाउँपालिकाका ७ संक्रमितको उपचार भईरहेको छ ।