कैलालीका भाईरल अर्जुन, जो युवती बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परे
2021/01/26, 3:47
 
a

पढाइको यात्रालाई ६ कक्षामै टुंग्याएर १२ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न पुगेका थिए कैलालीका अर्जुन विक । त्यसपछिका कैयौं वर्ष उनले भारतका गोवा, सुरतजस्ता सहरमा होटल र घरमा काम गरेर बिताए ।

१९ वर्षको उमेरमा उनले घर फर्केर ७ कक्षा पढेकी १३ वर्षीया पुष्पा (नाम परिवर्तन) सँग बिहे गरे । त्यो औपचारिक बिहेजस्तो पनि थिएन । पुष्पाका  दाइसँग अर्जुनकी बहिनीले बिहे गरेकी थिइन् । तर बहिनीको मृत्यु भइसकेको थियो । अर्जुन एक साँझ पुष्पाको घर पुगेका थिए र दोश्रो दिन उनले पुष्पालाई घर लगेर गए । त्यस्को दुई बर्षपछि १५ वर्षको उमेरमा पुष्पाले छोरा पाइन् ।

कहिले दिल्ली, कहिले गोवा त कहिले काठमाडौं गर्दा पनि अर्जुनले सोचेजस्तो केही भएन । त्यसपछि उनी काठमाडौं पुगे । ४ वर्षअघि उनले काठमाडौं गएर केही समय होटलमा र केही समय म्युजिक भिडियो र फिल्म सुटिङ गर्ने एक कम्पनीमा हेल्परको काम गरे । गायक बन्ने धोको पालेका उनले त्यतिबेला ६० हजार खर्चेर गीत गाए, म्युजिक भिडियो बनाए । तर दुवै सोचेजस्तो सफल भएनन् । त्यसपछि उनी कामको खोजीमा दिल्ली पुगे । त्यहाँ पनि भनेजस्तो काम नभएपछि एक सातामै काठमाडौं फर्के ।

सुटिङका बेला सुटिङ स्पटमा र अरू बेला रिक्सामा कुरमुरेजस्ता फास्टफुड पसल–पसल पु¥याएर बेच्ने काम गर्थे । कहिलेकाहीँ फुर्सदमा अरुका सामान ओसार्थे । त्यही क्रममा सामाजिक सञ्चालमा सक्रिय सरु सुनारले १७ गते उनको फोटो खिचिन् । सरुले फोटो फेसबुकमा पोस्ट गरिन् र ‘यो तस्बिरले कसको मन छुन्न र’ भन्दै लामो स्टाटस लेखिन् ।

उनको स्टाटसमा छ, ‘¥यापर बन्छु भनेर काठमाडौं आएका अर्जुन बच्चा पाल्न आफ्नो सर्टले दुईवर्षे बच्चा बोकेर काठमाडौंका विभिन्न ठाउँमा ठेला चलाउँदै छन् । सधैं पुरुषबाट पीडित भएम् भन्नेहरू यो तस्बिर नि हेरौं । कति पुरुष महिलाबाट नि पीडित छन् । यी पीडित युवाको कथा सुन्न र हेर्नका लागि भोलिसम्म प्रतीक्षा गर्नुहोला ।’ अनि उनको भाइरल बन्ने क्रम सुरु भयो ।

फोटो खिचिएकै साँझ उनको घरझगडा भयो । अनि भोलिपल्ट बिहानै पुष्पा माइत हिँडिन् । उता अर्जुनलाई भने दर्जनौं युट्युब च्यानलहरूले घेरिहाले । अनि अर्जुनले सुनाएको एकोहोरो कथामा पूरै विश्वास गरेर युट्युब च्यानलहरूले पुष्पाको चरित्रमाथि मात्रै लाञ्छनाको धाराप्रवाह सुरु गरे । 

तिनै अर्जुनलाई अहिले कैलाली प्रहरीले पक्राउ गरेको छ । ०७३ साल जेठ ३० गतेदेखि ०७७ साउन १५ गतेसम्म जिल्लाको भजनी नगरपालिका वडा नं ४ कि एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका वडा नं २ साँडेपानी बस्ने विकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार बिकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबरजस्ती करणी गरेका थिए । साउन १५ गते युवतीलाई कोठामै राखेर बिक फरार भएको जाहेरी दरखास्त परेपछि विकलाई पक्राउ गरिएको विष्टले बताए । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।