भारत जान लागेका नेपाली नागरिकलाई गड्डाचौकी नाकाबाट फर्काइएको छ । मन्त्रीपरिषदको निर्णयले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमा नाका शुक्रबारदेखि खुला गरेको सूचना पाएर शुक्रबार अपरान्ह भारत जानका लागि गड्डाचौकी पुगेका नेपालीलाई शसस्त्र प्रहरीले सीमा नाकाबाटै फिर्ता पठाएको हो । रोजगारीका लागि भारत जान लागेका कैलालीको टीकापुरका राकेश मगरले सिमानाका खुलेको सूचना पाएर भारत जानका लागि गड्डाचौकी नाका पुगेको तर सशस्त्र प्रहरीले फिर्ता पठाएको बताए ।
शुक्रबारदेखि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको जनाए पनि गड्डाचौकी नाकाबाट नेपालीले भारत जान प्रवेश नपाएका हुन् । जिल्ला प्रशासन कार्यालयले भने नाका खुला गर्न आन्तरीक तयारीमा जुटेको र शनिबारबाट सहज रुपमा आवतजावत हुने जनाएको छ ।