धनगढीको मुख्य बजार र चोकहरुमा सुरक्षाकर्मी परिचालन, दुई ठाउँबाट ऱ्याली निस्कने 
2021/01/30, 10:28
 
aamsava

नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गर्ने विरोध सभालाई मध्यनजर गरि धनगढीको मुख्य बजार र चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धनगढीको खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुई जना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आएपछि सुरक्षा व्यवस्थामा कडाइ गर्दै शसस्त्र र जनपद प्रहरी परिचालन गरिएको हो । 

यस्तै धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा विरोध सभाको आयोजना गर्दैछ ।

दिउँसो १ बजे धनगढीको खुलामञ्चमा सुरु हुने जनसभा सम्बोधन गर्न अध्यक्ष नेपाल शुक्रबार साँझ नै धनगढी पुगिसकेको र अर्का अध्यक्ष प्रचण्ड आज धनगढी पुगेको नेकपाका स्थायी समिति सदस्य एवंम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए ।

रावलका अनुसार दिउँसो १ बजे जनसभा सुरु हुनुअघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट ¥याली निस्कने छ । इन्चार्ज रावलले प्रदर्शन र भेलाको सम्पूर्ण तयारी पूरा भैसकेको बताए ।

उनले भने ‘यति नै संख्या भनेर तोक्न सकिँदैन उत्साहका साथ ठूलो संख्यामा केपी ओलीले चालेको असंवैधानिक कदमको विरोधमा जनताको सहभागिता आजको कार्यक्रममा रहने छ ।’