सामाजिक कार्यमा सक्रिय धनगढीका गजेन्द्र शाहीलाई ‘युवा बर्ष सम्मान’ प्रदान गरिएको छ । रोयल कोलाबोरेटिभ्स नामक समुहका संयोजक तथा युवा समाजसेवी शाही (गज्जु) लाई युवा वर्ष सम्मान गरिएको हो ।
लोकेन्द्र मोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष वितरण गर्दै आएको युवा वर्ष सम्मान यस वर्ष शाहीलाई वितरण गरिएको हो । संस्थाका अध्यक्ष नरनारायण शाह (मनु) ले सो पुरस्कारको पुरस्कार राशी पाँच हजार पाँच सय ५५ रहेको जानकारी दिए । युवावस्थामै धनगढी उप महानगरपालिकालाई आधार बनाएर आपत्तकालिन कपडा घर स्थापना र एक महिने निशुल्क खाना–पानी तथा फोन सेवा अभियान र अतिविपन्न परिवारलाई राहत वितरण तथा रक्तदान कार्यक्रमको क्षेत्रमा योग्दान पुर्याएको भन्दै शाहीलाई सो पुरस्कार वितरण गरिएको अध्यक्ष शाहले बताए ।
शाहीलाई सम्मानपत्र नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक र पार्टी सभापति नरनारायण शाहले सम्मानपत्र संयूक्त रुपमा हष्तान्तरण गरेका थिए । रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई निःशुल्क खाना तथा पानी वितरण गरेको थियो ।
कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार छ सय तीन प्लेट खाना खुवाइएको थियो । योसंगै कोलाबोरेटिभ्स समुहले कोरोना महामारीकै समयमा रक्तदान, विद्यार्थीहरूलाई राहत, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न सहयोग लगायतका गतिविधि गरेको थियो । उनीहरूले दुइ सय ५७ सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, अण्डा, नुन, तेल, आलु वितरण गरेका थिए भने चार सय विद्यार्थीहरूलाई खाद्यान्न राहत वितरण गरेका थिए ।