सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण दर घट्यो, पछिल्लो २४ घण्टामा परीक्षण छैन
2021/01/31, 6:46
 
corona

सुदूरपश्चिम प्रदेशमा नोबेल कोरोना भाईरस (कोभिड–१९) को परीक्षण दर घटेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस परीक्षण भएको छैन । 

सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सेती प्रादेशिक अस्पतालमा ४५ जना र बझाङ जिल्ला अस्पतालमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको थियो । सो परीक्षणमा सेतीबाट एक र बझाङबाट दुई जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । 

त्यसैगरी, शुक्रबार सेतीमा ५६, बैतडी अस्पतालमा ७ र डडेल्धुरा अस्पतालमा १४ जनाको स्वाब परीक्षण गर्दा तीन वटै प्रयोगशालाबाट एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको स्वाब संकलन र परीक्षण दर घटेको छ ।

आइतबार प्रदेशमा स्वाब परीक्षण नहुँदा शुक्रबारदेखि बाँकी रहेको ९८ जना नमुना परीक्षण भएको छैन ।   प्रदेशमा आइतबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय १३ जना छन् ।

सक्रिय संक्रमितहरुमध्ये अछाममा ७०, बैतडीमा ५४, बाजुरामा ६१, डडेल्धुरामा १२७, दार्चुलामा ६३, डोटीमा १६३, कैलालीमा २७०, कञ्चनपुरमा १३० र अन्य जिल्लाका ४८ जना छन् ।

आईतबार ४० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म १२ हजार सात सय आठ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।