सुदूरपश्चिम स्पोर्टस अवार्ड : ‘बर्ष खेलाडी महिला’ अवार्डलाई नोभा अस्पतालको साथ
2021/02/01, 1:55
 
sports award

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई नोभा अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधामध्ये बर्ष खेलाडी महिला विधालाई धनगढीमा रहेको नोभा अस्पतालले प्रायोजन गरेको हो । 

अब यो विधाको नाम नोभा अस्पताल बर्ष खेलाडी महिला अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नोभा अस्पतालकी प्रशासन अधिकृत सुमन भट्ट र अस्पतालका मेसु डाक्टर रामविहारी चौधरी तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य गगन अयडीले हस्ताक्षर गरे । धनगढीको अस्पताल लाईनमा रहेको नोभा अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरु एकै छाना मुनि प्रदान गर्दै आएको छ ।

अस्पतालले न्युरो सर्जरी सेवा पनि दिईरहेको छ । टाउको सम्बन्धी समस्याको लागि अन्यत्र जानुपर्ने अवस्था रहेकोमा नोभाले यो सेवा सुरु गरेसँगै अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यस्तै छाला रोग विशेषज्ञ र डेन्टल सेवालाई पनि प्राथमिकतामा राखेर सेवा दिदैं आएको छ । त्यसैगरी अत्याधुनिक सबै प्रकारका स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । सबै प्रकारका शल्यक्रिया र सर्जरी सेवा पनि दिईरहेको अस्पतालले जनाएको छ ।

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईने खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य तथा खेलाडी छनोट समितिका सदस्य नवराज पनेरुले जानकारी दिए ।